प्रशिक्षकको आपत्ती

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २९ गते २०७८ मा प्रकाशित


लन्डन-(एएफपी)– इटालीविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न असफल तीन खेलाडीमाथि भएको रंगभेदी दुब्र्यवहारलाई लिएर प्रशिक्षक ग्यारेथ साउथगेटले अक्षम्य भन्दै कडा आपत्ती जनाएका छन् ।

युरोकप फुटबल अन्तर्गत आइतबार भएको फाइनल खेलमा घरेलु टोली इङ्ल्यान्डका लागि मार्कस रसफोर्ड, जाडोन सान्चो र बाकुयो साकाले पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका थिए । रसफोर्डको बल साइड बारमा लागेर फर्किएको थियो भने सान्चो र बाकुयोको बल इटालीका गोलकिपरले रोकेका थिए । पेनाल्टी प्रहारमा चुकेका उनीहरुलाई समर्थकले रंगभेदी दुव्र्यवहार गरेका हुन् । सामाजिक सञ्जालमा उनीहरुविरुद्ध रंगभेदी टिका टिप्पणीहरु पनि धेरै भएका थिए । ती टीका टिप्पणीहरु बाहिर र स्वेदशबाट नै भइरहेका छन् ।

रंगभेदी व्यवहारविरुद्धको लडाईमा साथ दिन भन्दै युरो २०२० मा इङ्ल्यान्डका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए ।‘सामाजिक सञ्जालमा देखिएका रंगभेदी दुव्र्यवहार अक्षम्य छन्,’ प्रशिक्षक साउथ गेटले सोमबार भएको पत्रकार सम्मेलनमा भने, ‘केही प्रतिक्रिया र दुव्र्यवहारका अभिव्यक्ति बाहिरबाट आएका छन् भने केही स्वदेशबाट नै आएका छन् । यस बारेमा हामीले एफएलाई जानकारी गराइसकेका छौं ।’

यस्तै लन्डन महानगरीय प्रहरीले पनि रंगभेदी दुव्र्यवहारको घटनाबारे अनुसन्धान गरिरहेको र केहीलाई नियन्त्रमा लिएको जनाएको छ । इङ्ल्यान्ड फुटलब एसोसियन (द एफए) ले खेलाडीमाथिको दुव्र्यवहारबाट स्तब्ध भएको जनाएको छ ।‘यो व्यवहार कसले गरेको हो भन्नेबारे हामीले यकिन गर्न सकिरहेका छैनौं । छिट्टै अनुसन्धान गरेर कसैलाई पनि छाड्दैनौं,’ एफएको जारी गरेको विज्ञप्पतीमा जनाएको छ, ‘हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

२०१६ बाट इङ्लिस टोली सम्हाल्दै आएका साउथगेटले इङ्ल्यान्डलाई २०१८ को विश्वकप फुटबलमा सेमिफाइनल सम्मको यात्रा तय गराएका थिए । युरोकप २०२० को फाइनलमा पेनाल्टी प्रहारका लागि युवा खेलाडीलाई मैदान उत्रादा भने साउथगेट केही आलोचित भएका छन् र केही प्रश्न उनीमाथि उठ्न थालेका छन् ।