पोखराको फुटबल मैदान मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित


पोखरा-अखिल नेपाल फुटबल संघले शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि बढाएको छ । यद्यपी प्रस्तावको निर्णय भईसकेको छैन् । गण्डकी प्रदेशकै सफल क्लब मनाङ मस्र्याङ्दीलाई पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने विषयमा छलफल समेत भईसकेको छ । क्लबका पदाधिकारी तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका पदाधिकारी बीच छलफल भएको छ । छलफलले सकारात्मक निष्कर्ष निकालेको छ ।

‘क्लबका पदाधिकारीसँगको छलफलले सकारात्मक निर्णय गरेको छ । मनाङ मस्र्याङ्दीलाई होम ग्राउण्ड बनाउन दिने विषयमा समिति सकारात्मक छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘ ‘सम्झौता राष्ट्रिय खेलकुद परिषदले नै गर्छ ।’ उनका अनुसार परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल ओलम्पिकबाट फर्किएपछि निर्णय हुने छ । पुरानो संरचना हटाई पोखरा रंगशाला फुटबल मैदानको नयाँ संरचना निर्माण गरिएको हो । १ अर्ब २८ करोडको लागतमा फुटबल मैदान एवं प्यारापिट निर्माण गरिएको छ । प्यारापिट १६ हजार ५ सय दर्शक क्षमताको छ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्छन् । लिग अन्तर्गत आफनै मैदानमा खेल्दा प्राप्त टिकटको शुल्कको आम्दानी भने क्लबले नै लिन पाउँछ । तर क्लबले पोखरा रंगशाला फुटबल मैदानलाई घरेलु मैदान बनाउँदा परिषदले शुल्कसहित सर्तहरु अघि सार्न सक्छ ।

सहारा क्लब पोखराले वर्षेनी रंगशालाको फुटबल मैदान आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दा शुल्क तिर्ने गरेको छ । सहाराले प्रतियोगिताको लागि ४ लाख रुपैयाँसम्म मैदानको शुल्क बुझाउँदै आएको छ । मनाङ मस्र्याङ्दी क्लबले पनि होम ग्राउण्ड बनाई उपयोग गरेवापत निश्चित शुल्क तिर्नुपर्ने पर्छ । ‘शुल्क र सर्तका विषयमा परिषदबाटै टुंगो लाग्छ ।’ क्षेत्रीय प्रमुख योगीले सुनाए ।

मनाङ मस्र्याङ्दी क्लबका सदस्य विजय घलेले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा राखेपका क्षेत्रीय समितिका पदाधिकारीसँग एक चरणको छलफल भएको बताए । ‘पोखरामा छलफल गर्यौं । तर सबै निर्णय राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवसँग छलफल गरेर टुंग्याउँछौं ।’ उनको भनाई थियो । उनका अनुसार होम ग्राउण्ड बनाएपछि पोखरामा लिगका ६ देखि १० खेल पोखरा रंगशाला फुटबल मैदानमा खेलाउने सोंच छ । अवे खेल्ने टोलीलाई राख्नुपर्ने अवस्थाकै कारण टिकेटिङ उठाउनुपर्ने अवस्था रहन्छ । ‘मैदानको शुल्क सम्बन्धी अन्तिम निर्णय भएको छैन्’ उनले भने–‘हामीले मैदान उपयोग गरेपछि हाम्रो पनि योगदान हुनुपर्छ भन्ने मान्यता छ ।’ उनले कोभिडको असर कस्तो रहन्छ त्यसले पोखरामा खेल खेलाउने कि नखेलाउने भन्ने निर्णय गरिने स्पष्ट पारे । कोभिडको असरले खेल क्षेत्रलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।