तालमा वाटर स्पोर्टसको सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित


बेगनास ताल ।

पोखर-पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुङ्गा व्यवसायमा मात्रै छ । तालहरुलाई पर्यटन प्रवद्र्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने सम्भावित अध्ययनले समेत दिएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो ।’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने–‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक प्रयोजन छ । रुपा तालमा व्यवसायिक माछापालन गरिएको छ । दिपाङलाई ‘हनिमुन लेक’ बनाउने योजना थियो । दिपाङलाई पर्यटन व्यवसायी राम गुरुङले ‘वाटर स्की’ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेन् । उनै गुरुङले कास्कीको माछापुच्छ«े गाँउपालिकाको ल्वाङ घलेलमा क्यानोनिङ(झरनामा डोरीले उक्लिने) शुरु गरेको आधा दशक बितिसकेको छ ।

तालहरुमा परम्परागत बोटिङ, वाटर स्की, कायाकिङ, पावर बोटिङ(मोटरबोट) लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ । ‘पानीमा खेलिने खेल केवल खेल मात्रै नभई पर्यटन प्रवद्र्धनको नयाँ आयाम बन्ने छ ।’ उनको भनाई थियो । पानीमा खेलिने अधिकांश खेल ओलम्पिकमा समेत समावेश छ । ‘एक दिनको लागि खेलकुद हुन्छ । अन्य दिनमा पर्यटन प्रवद्र्धनको लागि उपयोग हुन्छ ।’ अध्यक्ष भट्टराईले भने । पानीको खेलको लागि पोखराको मौसम उपयुक्त हुन्छ ।

उनका अनुसार अबको दशक पानीको खेलको दशक हुने छ । पोखरालाई पानीको खेलको केन्द्र बनाउन सकिने विश्वास उनको छ । ‘हामीसँग तालहरु छन् । अबको दशक भनेकै पानीको खेलको हो । पानीको खेलको लागि पोखरालाई दक्षिण एशियाकै गन्तव्य बनाउन सकिन्छ’ उनले थपे–‘त्यसको लागि नीति नियम बनाउनुपर्छ । जनशक्ति उत्पादनमा जोडदिनुपर्छ । आवश्यक पूर्वाधार तयार पार्नुपर्छ । सामान ल्याउनुपर्छ । ती सबै भईसकेपछि सञ्चालन गर्ने संस्थागत र संगठन संरचना निर्माण गर्नुपर्छ ।’

पानीमा खेलिने खेलले पर्यावरणमा असर गर्दैन् । डेढ दर्जन भन्दा बढी पानीको खेलका इभेण्ट हुन्छन् । उनका अनुसार अहिले देखि नै पानीको खेलमा ध्यान दिन सकिए आगामी वर्ष अन्तराष्ट्रिय क्षेत्रमा पदकको आशा गर्न सकिन्छ । ‘पदक, रोजगारीसँगै पर्यटन प्रवद्र्धन हुन्छ ।’ उनको भनाई थियो ।

वाटर स्पोर्टसको सम्भावना निकै राम्रो छ । तर नीति नियम नहुदाँ त्यसतर्फ खासै ध्यान जान सकेको छैन् । ‘वाटर स्पोर्टसको सम्भावना छ । तर नीति नियम बन्नुपर्छ ।’ वाटर स्कीको परिकल्पना गरेका पर्यटन व्यवसायी राम गुरुङले भने–‘नीति नियम बने वाटर स्पोर्टसले पर्यटन प्रवद्र्धन हुन्छ ।’ पानीको खेल विशेष गरी ‘टुरिज्म एडभेन्चर स्पोर्टस’ हो ।’ उनले भने–‘त्यसको लागि पहिला कार्यविधि बन्न जरुरी छ । कार्यविधि नहुदाँ अघि बढ्न सकिदैन् ।’ पानीको खेलको लागि नीतिगत त्रुटिले पनि समस्या बनाएको गुनासो उनको थियो । महानगरपालिकाले तालहरुको संरक्षणसँगै पानीको खेलको लागि नयाँ नीति नियम बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

पोखरा महानगर खेलकुद विकास समितिले पनि पोखराका तालहरुमा पानीको खेलको लागि आवश्यक प्रारम्भिक अध्ययनको गर्ने उल्लेख गरेको छ । ‘वाटर स्पोर्टसको चर्चासँगै सरोकारवाला निकायसँग छलफल गर्ने तयारीमा छौं’ पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले भने–‘स्पोर्टस मात्रै नभई पर्यटन प्रवद्र्धन समेत जोडिने छ ।’ तालमा हुने बोटिङ, कायाकिङ लगायतका खेलहरुको बारेमा सम्भाव्य अध्ययन गर्ने तयारीमा महानगर खेलकुद विकास समिति जुटेको उनको भनाई थियो ।