साफ खेल्ने नेपाली फुटबल टोली कतार जाँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिपका लागि थप अभ्यास गर्ने लक्ष्य सहित कतार जान लागेको टोलीलाई आज विदाई गरिएको छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको २४ सदस्यीय नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गरी विदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले कतार जाने टोलीलाई विदाई गरेका हुन । विदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरण चेम्जोङले साफ लक्ष्य राखेर थप अभ्यासका लागि कतार जानेको बताए ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने केही दिनअघि नै कतार प्रस्थान गरिसकेका छन् । नेपाली टोलीले माल्दिभ्स जानुअघि कतारमा १० दिन बन्द प्रशिक्षण गर्नेछ । त्यहीँबाट नेपाली टोली माल्दिभ्स प्रस्थान गर्नेछ । प्रतियोगिताको तयारीमा रहेको नेपालले हालै मात्र भारतविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भारतसँग २–१ ले निराश भएको थियो ।

साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३०­ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने तालिका छ । च्याम्पियनसिपको उद्घाटनमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।