खेलुकद समिति हटाईने—मन्त्री गुरुङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २३ गते २०७८ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन् । उनले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लाको कार्यसमितिलाई हटाउने कार्यविधि नै तयार भएको उल्लेख गरे ।

‘हटाउने कार्यविधि तयार भईसकेको छ ।’उनले भने—‘लमजुङ बाहेक प्रदेशका अन्य जिल्लाको खेलकुद समिति हट्छ ।’ राजनीति नियुक्त भएका खेलकुद विकास समितिलाई दशैं अघि सम्भव नभएको जनाउँदै मन्त्री गुरुङले तिहार अघि नै हटाउने स्पष्ट पारे । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लामा खेलकुद समितिमा पदाधिकारी एवं सदस्य नियुक्त गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आवश्यक तयारी शुरु गर्ने खेलकुद संघलाई आग्रह गरेका छन् । कास्की जिल्ला बक्सिङ संघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा मन्त्री गुरुङले बजेट छुट्टाएको जनाउँदै आवश्यक तयारी गर्न आग्रह गरे । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ’—मन्त्री गुरुङले भने—‘बक्सिङले पनि तयारी गर्नुपर्छ । तीन लाख रुपैयाँ तयारीको लागि छुट्टाइएको छ ।’ उनका अनुसार तीन लाख रुपैयाँले बक्सिङलाई आवश्यक पर्ने खेल सामाग्री खरीद गरेर उपलब्ध गराइने छ । ‘तयारी गर्नुस । आवश्यक सामान किनेर दिन्छौ ।’ मन्त्री गुरुङले भने—‘आवश्यक सामान के के हुन त्यो लेखेर दिनोस हामी उपलब्ध गराउँछौं ।’ संघले आवश्यक सामाग्रीसँगै प्रशिक्षक उपलब्ध गराउन माग गरेका थिए । प्रशिक्षकको विषयमा पनि प्रदेश सरकारले व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री गुरुङले गरे । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश छन् ।

मन्त्री गुरुङले प्रदेशका सबै जिल्लामा फुटबल बाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको बिकास गर्नुपर्नेमा जोड दिए । पोखरा रंगशालाभित्र केही खेलको पूर्वाधार विकास गर्न प्रदेश सरकारले चाहेर पनि लगानी गर्न नसकेको स्पष्ट पारे । ‘केन्द्रले पोखरा रंगशालाको सम्पूर्ण संरक्षण र लगानीको लागि हस्तान्तरण गर्यो भने प्रदेशले आवश्यक पूर्वाधारमा लगानी गर्छ।’ उनले भने—‘प्रदेशको मातहतमा नआए लगानी गर्न सकिने अवस्था छैन् ।’

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल ७/८ वटा खेलको मात्रै प्रशिक्षक रहेको भन्दै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गर्ने बताए । उनले प्रशिक्षकको लागि ३ महिने, स्वयसेवक प्रशिक्षकको लागि १० दिने, विद्यालय शिक्षक, तथा रेफ्रीलाई ५ दिने कोर्ष गराउने योजना रहेको सुनाए । संघका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोभ्स, हेडगार्ड, किक व्याग, पन्चिङ ब्याग लगायतका सामान आवश्यकता रहेको बताए । प्रशिक्षकको लागि आवश्यक खाका तयार रहेको भन्दै सदस्य सचिव गुरुङले त्यसको लागि सार्वजनिक सूचना निकालेर आह्वान गरिने जानकारी दिए । कुनै पनि खेलको स्थायी प्रशिक्षक नराख्ने जनाउँदै प्रशिक्षकको प्रदर्शनको आधारमा म्याद थप गर्दै लैजाने समेत स्पष्ट पारे ।

संघका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोभ्स, हेडगार्ड, किक व्याग, पन्चिङ ब्याग लगायतका सामान आवश्यकता रहेको बताए । अध्यक्ष श्रेष्ठले बक्सिङ गण्डकी प्रदेशको एघारै जिल्लामा प्रशिक्षक नभएको गुनासो गरे । उनी लगायत बक्सिङका अन्य पदाधिकारीले बक्सिङ अन्तराष्ट्रिय पदकको सम्भावना भएको खेल भएपनि प्रशिक्षक नहुदाँ राष्ट्रिय प्रतियोगिता सोचेजस्तो सफलता हासिल गर्न नसकिएको गुनासो गरेका थिए ।