नेपाल पहिलो पटक फाइनलमा प्रवेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७८ मा प्रकाशित



काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशलाई १–१ को बराबरी रोक्दै नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । नेपालले दश खेलाडीमा सिमित भएको टोलीविरुद्ध नेपालले पेनाल्टीबाट बराबरी फर्काउँदै फाइनलमा पुगेको हो ।

पहिलो हाफमा बंगलादेशका सुमन रेजाको गोल बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा निश्चित भएको थियो ।

यस अघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले रातो कार्डको दर्शन गराएका थिए ।

८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई अन्जनले गोल गर्दै टोलीलाई फाइनल यात्रा तय गराएका हुन । नेपालले केही राम्रा आक्रमण गरे पनि बलियो बंगाली रक्षापंक्तिले इनजुरी समयमा मनिषले गोल गर्न चुक्दा नेपाल अग्रता लिनबाट बन्चित भएको थियो ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आजै राति हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।