
काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुआत ले विजयी शुरूवात गरेका छन् ।

दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो ।

इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे । मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यस्तै शनिबार कै भएको सुपर-१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे । दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १-१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे ।
