कास्कीका खेलकुद पूर्वाधारलाई पौने तीन करोड बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित


पोखरा=गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले कास्कीको पोखरा महानगर एवं गाँउपालिको खेलकुद पूर्वाधारको लागि २ करोड ७६ लाख रुपैयाँ बजेट छुट्टाएको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रलायले कास्कीमा ५२ वटा खेलकुदका योजनालाई बजेट छुट्टाएको हो । खेलकुद मन्त्रालयले सबैभन्दा बढी बजेट पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ ।

पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ निर्माण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले माग गर्दै आएका थिए । यद्यपी मन्त्रालयले ठोस सम्बोधन भने गर्न सकेको थिएन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन् । रंगशालाभित्रको सेमी कभर्ड हलमा बक्सिङको रिङ भएपनि प्रशिक्षणको लागि पर्याप्त नभएपछि प्रदेश सरकारले मार्शल आर्ट रिङ बनाउने योजनासहिट बजेट छुट्टाइएको हो ।

मार्शल आर्ट रिङपछि कास्कीको माछापुच्छ«े गाउँपालिकाको लाहाचोकस्थित त्रिशक्ति युनाईटेड क्लब खेल मैदान निर्माण गर्न १५ लाख रुपैयाँ छुट्टाइएको छ । पोखरा महानगरपालिका २६ स्थित खास्ते न्युरेनी ताल खेल मैदानको लागि १२ लाख रुपैयाँ छुट्टाइएको छ । ‘विभिन्न माग भई आएको योजना अनुसार खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाइएको हो ।’ मन्त्रीका प्रेस सल्लाहकार सोमनाथ बराल(विशाल)ले भने–‘माग भएका अधिकांश योजनालाई मन्त्रालयले सम्बोधन गरेको छ ।’ पोखरा रंगशालाभित्रै लन टेनिसमा प्यारापिट निर्माणको लागि १० लाख, बैकल्पिक फुटबल मैदानको लागि १० लाख छुट्टाइएको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए ।

मन्त्रालयले मनाङको पाँच वटा वडालाई लक्षित गर्दै खेल मैदान निर्माण अघि बढाइएको छ । मनाङको निस्याङस्थित वडा नं १ देखि ५ सम्मका वडाबासी लाभान्वित हुने गरी अन्नपूर्ण मावि खेल मैदान निर्माण एवं स्तरोन्नति गर्न ३३ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । पोखरा महानगरपालिका २५ हेमजास्थित पेमा छाल मोनस्कि आधारभूत विद्यालयलाई ८ लाख रुपैयाँ छुट्टाइएको छ । पोखरा महानगरपालिका १९ लामाचौरको चनौटे खेल मैदानका लागि ७ लाख रुपैयाँ छुट्टाइएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जनाएकोृ छ । भकुण्डे खेल मैदानलाई समेत मन्त्रालयले ७ लाख रुपैयाँ छुट्टाएको छ ।

गण्डकी प्रदेश सरकार गठन लगत्तै अन्तराष्ट्रिय रंगशाला, अन्तराष्ट्रिय प्रादेशिक क्रिकेट रंगशाला, एक स्थानीय एक खेल मैदान लगायतका पूर्वाधार बनाउने योजना सार्वजनिक गरेको थियो । सार्वजनिक गरेपछि तत्कालिन प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको थियो । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहँदा खेलकुदको पूर्वाधार विकास र प्रतियोगिता समेत आयोजना गर्न असमर्थ रहेको थियो । यद्यपी युवा तथा खेलकुद मन्त्रालय छुट्टाई स्वतन्त्र प्रदेश सदस्य राजीव गुरुङलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिएपछि खेलकुद क्षेत्रको विकासको अपेक्षा खेलकर्मीले गरेका छन् । मन्त्रालयले १ लाख ५० हजारदेखि ५ लाखसम्मका खेलकुद पूर्वाधारका योजनालाई समेट्दै बजेट छुट्टाइएको जनाएको छ ।