
धन बस्नेत,पोखरा-त्रासै त्रासको बीचमा रुमलिएको खेलकुदले यो वर्ष फड्को मार्यो । पछिल्लो चार महिना यता खेलकुदका गतिविधिले गतवर्षको कोभिड–१९ को सन्त्रासलाई ओझेलमै राख्यो । खेलकुद गतिविधिले पोखरालाई खेलकुदकै राजधानी भएको थप प्रष्ट्याईदियो । एकपछि अर्को गरी आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलाडीलाई पनि व्यस्त बनायो । आठ महिना शून्यता रहदाँ पुस यता खेलाडीको व्यस्तता बढ्यो ।
सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा ‘आईटिएफ इन्टरनेशनल यु–१८ टेनिस’ प्रतियोगिता रह्यो । कोभिडको नयाँ भेरियन्टको रुपमा देखापरेको ओमिक्रोनको त्रास बढ्दै गएको अबस्थामा कास्की जिल्ला टेनिस संघले आईटिएफ यु–१८ प्रतियोगिताको आयोजना र व्यवस्थापन गर्यो । सर्किट १ र २ गरी १० देशका १८० जना स्वदेशी तथा विदेशी खेलाडी पोखरा रंगशालाको टेनिस कोर्टमा आईपुगेका थिए । ‘ओमिक्रोनको त्रास नभएको भए आईटिएफकै थप कार्यक्रम पोखरामा गर्न सकिन्थ्यो ।’ कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले भने–‘यु–१८ को कार्यक्रमले पोखराको सुस्ताएको पर्यटनलाई उकास्ने प्रयास गर्यो । टेनिसको माहोल बन्यो । टेनिसको गन्तव्यको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा बजारीकरण समेत गर्यो ।’ कास्की जिल्ला टेनिस संघले उमेर समूहको प्रतिस्पर्धालाई समेत प्राथमिकता राख्यो । जुनियर तथा सिनियर एवं भेट्रान टेनिसको आयोजना गर्यो ।
नेपाल ट्रायथोलन संघले आयोजना गरेको एशिया ट्रायथोलन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पिनसिप एवं दुवाथोलनले पनि खेल पर्यटन प्रवद्र्धनमा इँटा थप्ने काम गर्यो । सुस्ताएको पर्यटनलाई समेत यी प्रतियोगिताले राहत दिलायो । ७ देशका महिला र पुरुष गरी ६२ जनाले सहभागिता जनाएका थिए । अधिकांश भारतीय खेलाडी सहभागि थिए । ट्रायथोलन गतवर्ष कोभिड–१९ कै कारणले रोकिएको थियो । ‘ट्रायथोलनले पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले भने–‘केवल ट्रायथोलनको विकास मात्रै होईन पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्यो ।’
नेपाल भुतपुर्व खेलाडी मञ्चको पोखरा अन्तराष्ट्रिय म्याराथनसँगै मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप, टाईगर ग्रुपको महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताले खेलकुदमा नयाँ उचाई थप्यो । आर्चरी संघ कास्कीले पोखरामै पहिलो पटक गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप गर्यो । स्थानीयस्तरमै कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्लब च्याम्पियसिप, पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको कास्की जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता, टेबलटेनिस प्रतियोगिता, अन्तरवडास्तरीय भलिबल प्रतियोगिता, कास्की जिल्ला भलिबल संघले आयोजना गरेको विद्यालयस्तरीय सिर्जना कप भलिबल प्रतियोगिता, कास्की जिल्ला बास्केटबल संघले आयोजना गरेको माविस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेका थिए ।
खेल–पर्यटनसँगै यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताले भने यो वर्ष ऐतिहासिक उपलब्धी दिलायो । धनगढीमा आयोजित यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले पहिलो पटक उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गर्यो । ‘महिला क्रिकेटको लागि यो ऐतिहासिक उपलब्धी हो ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन् ।
त्यस्तै भेट्रान तर्फ पनि उत्तिकै प्रतियोगिता आयोजना गरिए । राष्ट्रिय भेट्रान टेबल टेनिस, कास्की ह्याण्डबल संघले आयोजना गरेको भेट्रान ह्याण्डबल प्रतियोगिताले पनि उमेर समूहका खेलाडीलाई एरिनामा उतार्यो । अन्तराष्ट्रिय खेलाडी सहभागिता जनाउने सम्भावना बोकेका खेल आयोजना र व्यवस्थापन गर्नुपर्ने खाँचो छ । खेल पर्यटन प्रवद्र्धनको लागि पनि खेलहरुले त्यस तर्फ ध्यान दिन जरुरी छ । पोखरा रंगशालामा पूर्वाधारसँगै खेलकुदका गतिविधि बढेका छन् । केही खेल भने शून्यमै रह्यो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…