सागर थापाको टोली सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित


file pic

पोखरा-सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सानो गौचरनले फाईनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्ने छ ।

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चार पक्का बनायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको पेनाल्टी बचाउ भएको थियो । नितिन गुरुङ, शुक्र तामाङ, यमु राना र जगत लामाको प्रहार गोलमा परिणत भएपछि सानो गौचरनले जित पक्का बनाएको थियो ।

फ्रिडम फाईटरका लागि राजकुमार घिसिङ, रमेश गुरुङ, विष्णु सुनारले पेनाल्टी सदुपयोग गरे । तर विक्रम श्रेष्ठ र मिलन राईको प्रहारले जाली चुम्न नसकेपछि फ्रिडम फाईटर बाहिरिन पुग्यो । निर्धारित समयमा सानो गौचरनका लागि तेजबहादुर गलामीले ३८ र ४१ औं मिनेटमा गोल गरे । फ्रिडमका लागि मिलन राईले पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई विक्रम श्रेष्ठले ३० औं मिनेटमा अर्को गोल थपे । तर सानो गौचरनले पुनरागम गर्दै बराबरी गर्दै पेनाल्टीसुटआउटसम्म धकेलेको थियो ।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ सम्मिलित मनाङ मस्र्याङ्दी क्लबलाई पन्छाउँदै पोखराको संगमी बीले सेमिफाईनल सुरक्षित गर्यो । खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरेको थियो । उनी खेलमा प्लेयर अफ दि म्याच घोषित भए । उता चितवन भेट्रानले पोखराको संगम एलाई ३–०ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

विरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई सुरेन्द्र चौधरीले २० औं मिनेटमा दोब्बर बनाए । भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरको जित सम्भव बनाए । खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटमा गोल गरेका थिए । सोमबार बगर भाइखलकले घरेलु टोली संगम बीसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ ।