प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रानको उपाधि संगम बीलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित


पोखरा-संगमी बीले सानो गौचरनलाई ३–० गोलले पराजित गर्दै प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरा रंगशाला फुटबल मैदानमा भएको फाईनल खेलमा संगमी बीले एक पक्षीय नजिता निकाल्दै तीन लाख नगद राशीको उपाधि रक्षा गर्यो । पानीले प्रभावित बनाएको खेलमा संगम बीले खेलको २० औं मिनेटमा गोलको अग्रता लिदैं सानो गौचरनमाथि दबाव बनायो । लालबहादुर खत्रीको व्याकहिल गोलमा परिणत भएपछि संगमले स्पष्ट अग्रता लिएको थियो ।

दोस्रो गोल ३२औं मिनेटमा सम्भव हुन पुग्यो । एक गोलले पछि परेको सानो गौचरन गोल फर्काउन हतारिदाँ अर्को गोलको सामना गर्दै दुई गोलले पछि पर्यो । विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाउँदा ३७ औं मिनेटमा अर्को गोल गरेपछि संगमले फराकिलो जित निकाल्यो । ३७ औं मिनेटमा सन्जय गुरुङले गोल गरेका थिए ।

उपविजेता बनेको सानो गौचरनले नगद एकलाख ५०हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा संगमका विजय गुरुङ उत्कृष्ट खेलाडी घोषित हुदैं नगद २० हजार प्राप्त गरे । त्यसैगरी संगमका खिमबहादुर गुरुङ उत्कृष्ट गोलकिपर, संगमकै विश्वलाल श्रेष्ठ उत्कृष्ठ डिफेन्स, संगमकै महेन्द्र गुरुङ उत्कृष्ट मिडफिल्डर, सानो गौचरनका शुक्र तामाङ उत्कृष्ट स्ट्राईकर र मनोज गुरुङ(बगर भाइखलक) तथा नरेन्द्रजंग गुरुङ(संगम) सर्वाधिक गोलकर्ता बने ।

उनीहरुले नगद १५÷१५ हजार नगद राशी प्राप्त गरे । १८ टोलीको सहभागिता रहेको प्रतियोगितामा दुई जना अनिवार्य ५० वर्ष माथिको उमेर समूहका खेलाडी समावेश गरिएको थियो । प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।