भीमाद र बी–१३ अन्तिम आठमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ११ गते २०७९ मा प्रकाशित


संगम एफसी टिम । तस्बिर चाउथे एफसी ।

पोखरा-भीमाद युवा क्लब र पोखराको बी–१३ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । भीमादले कमलपोखरी बीलाई ३–२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । भीमादका लागि विनोद घिमिरे, लोकेश गुरुङले गोल गर्दा एक गोल उपहार पाएर भाग्यमानी बन्दै अन्तिम आठमा प्रवेश गर्यो । अजय गुरुङले आत्मघाती गोल गरेका थिए । कमलपोखरीका लागि सन्देश गुरुङ र उपेन गुरुङले गोल गर्दै प्रतिस्पर्धात्मक बनाएपनि आत्मघाती गोलले क्र्वाटरफाईनलको ढोका बन्द गरिदियो । भीमादका विनोद गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी अर्को खेलमा बी–१३ ले शहीद स्कुललाई ४–०ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । दिपेश गुरुङले २ तथा प्रविन गुरुङले २ गोल गर्दै जित सुनिश्चित बनाए । प्रविन म्यान अफ दि म्याच घोषित भए । संगम फुटबल क्लबलाई २–१ ले पराजित गर्दै रत्नचोक अन्तिम १६ मा प्रवेश गरेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगितामा रत्नचोकका लागि दुवै गोल सोनु गुरुङले गरेका थिए । संगमका लागि सुजन बुढाथोकीले एक गोल फर्काए । जित बराबरीको लागि पर्याप्त भएन् । खेलमा सोनु म्यान अफ दि म्याच भए ।

त्यसैगरी अर्को खेलमा भीमकाली फुटबल क्लबले जनसेवा स्पोर्टस क्लबलाई पराजित गरेको छ । भीमकालीले जनसेवालाई २–० गोलले पराजित गर्यो । जितको लागि सुमित श्रेष्ठले दुवै गोल गरे । उनी खेलमा म्याच अफ दि म्याच घोषित भए । त्यस्तै एलजी एकताले पुलिस टे«निङ सेन्टरलाई ३–१ गोलले पराजित गरेको छ । एलजी एकताको लागि प्रशान्त गुरुङले दुई तथा विवेक गुरुङले एक गोल गरे । पुलिस टे«निङका लागि प्रविन आले मगरले एक गोल फर्काए । खेलमा प्रशान्त म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै नयाँबजार फुटबल क्लबलाई मन्त्र चर्चले वाकओभर दिएको छ । रफ गाईज(आरजी)ले मर्दी एफसीमाथि ३–० को नजिता निकाल्यो । आरजीका लागि विपिन क्षत्री, आशिष गुरुङ र दिवस गुरुङले समान एक एक गोल हिर्काए । आशिष म्यान अफ दि म्याच घोषित भएको आयोजक जनएकता क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । उनले बिहीबार ६ खेल हुने जानकारी दिए ।