अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रदेश सरकारको सहकार्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २ गते २०७९ मा प्रकाशित


हेटौंडा- धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बा“की काम पूरा गर्न वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती सरकारले पनि आगामी आवका लागि उक्त रंगशालामा ५ करोड विनियोजन गरेको हो । वागमतीका आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्यका लागि ५ करोड छुट्याएको बताएका छन् । मैदानका लागि वागमती प्रदेश सरकारले फाउन्डेसनलाई ३ करोड उपलब्ध गराइसकेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७÷०७८ का लागि उक्त अनुदान रकम उपलब्ध गराइएको हो ।

रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हेटौंडा नगरपालिकाले पनि ३० लाख रुपिया“ सहयोग हस्तान्तरण गरिसकेको छ । अघिल्लो दिन घोषणा गरिएको रकमको चेक भोलिपल्ट फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लार्ई हस्तान्तरण गरिएको थियो । ३ अर्ब लागत रहेको रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो । आर्थिक अभावका कारण निर्माण रोकिएको रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बनविश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला एक नेपाली निर्माणाधीन रंगशाला हो । उक्त रंगशाला धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकामा निर्माण शुरु गरेको थियो । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते निर्माण घोषणा गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको उक्त जग्गा कृषि तथा बन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाइने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई जग्गा उपलब्ध गराएको थियो । रंगशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने रंगशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल, बास्केटबल, ब्याड्मिन्टन, डन्डीबियो, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन् ।

रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एकसिंगे गैंडा, हात्ती, पाटेबाघलगायत जनावरको धातुका मूर्ति रहनेछन् । नेपालका पर्यटकीयस्थल चिनाउने सामग्री पनि राखिनेछन् । क्रिकेट खेलाडी उत्पादन गर्न एकेडेमी पनि रंगशालामा रहनेछ ।