नेपाल पुलिस क्लबका दुवै टोलीको उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित


पोखरा-लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन् ।

नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै पुरुष तर्फ उदघाटन खेल खेल्ने छ । त्यसपछि विभागीय क्लब त्रिभुवन आर्मी क्लबले घरेलु टोली गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फको उदघाटन खेल नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसँगै प्रतिस्पर्धा गर्दै शुरुवात गर्ने छ । दोस्रो खेल न्यु डायमण्ड युथ स्पोर्टसले त्रिभुवन आर्मी क्लबसँग खेल्ने खेल तालिका सार्वजनिक गरिएको छ ।
कोभिड–१९ले दुईवर्ष स्थगित गरेको संस्थाले फेरी मेलासँगै भलिबलको रौनकलाई फर्काउने प्रयासमा जुटेको छ । भलिबल प्रतियोगिता यही भदौ ११ गतेदेखि शुरु हुने छ । भलिबल प्रतियोगितासँगै तीजे मेलाको रौनक हेर्न लामाचौर पुग्नुपर्छ भन्ने सन्देश दिदैं आएको संस्थाले यो वर्ष विगतमा झैं महिला र पुरुष राष्ट्रिय भलिबल गर्ने छ । भलिबलमा महिला तथा पुरुष तर्फ विभागीय टोलीले आफनो दरिलो उपस्थिति जनाउने छन् । ‘लिगकम नकाउटमा खेलाईने छ । चार दिन प्रतिस्पर्धा हुने छ ।’ संस्थाका पूर्व अध्यक्ष एवं सूचना तथा सञ्चार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

महिला तर्फ गण्डकी प्रदेशको कप्तानी नेपाल महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान समेत रहेकी अरुण शाहीले गर्ने तय भईसकेको छ । पुरुष तर्फको कप्तानी हरि पाण्डेले गर्ने छन् । हरि पाण्डेकै कप्तानीमा गण्डकी प्रदेशले प्रथम टाईगर कप आमन्त्रित भलिबल प्रतियोगिताका उपाधि घरेलु कोर्टमा उचालेका थियो । प्रतियोगितालाई विशेष सहयोगीको रुपमा पोखरा महानगरपालिकासँगै स्थानीय वडा कार्यालय रहेका छन् ।

चारदिने प्रतिस्पर्धामा महिला तर्फ तीन विभागीय टोलीलाई गण्डकी प्रदेशसँगै न्यु डायमण्ड युथ स्पोर्टस क्लबले चुनौति प्रस्तुत गर्ने छ । पुरुष तर्फ पनि विभागीय टोलीहरुसँग गण्डकी प्रदेश र बुटवलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । ‘महिला तथा पुरुष विजेताले समान १ लाख ५० हजार राशीको पुरस्कार जित्ने छन् ।’ उनले भने । उनका अनुसार प्रतियोगिता लामाचौरस्थित रत्नराज्य लक्ष्मीमाविको खेल मैदानमा सञ्चालन हुने छ ।

दुवै तर्फ उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने दुवै टोलीले समान ५०/५० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई भने आकर्षक पुरस्कार प्रदान गरिने आयोजक नवआदर्श सामुदायिक विकास समाजले उल्लेख गरेको छ । भलिबल प्रतियोगितासँगै आयोजक संस्थाले तीज गीत प्रतियोगिता आयोजना समेत गर्ने छ । दर्शकले भलिबल प्रतियोगितासँगै तीजे गीतको रौनकमा आफुलाई झुमाउन सक्ने छन् । कार्यक्रमको लागि ५४ लाख रुपैयाँ खर्च हुने संस्थाकी अध्यक्ष रेशमा शेरचन अधिकारीले जानकारी दिईन् ।