नवौंका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित आईतबार सम्मान गरेको छ । गएको असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक नजिता ल्याउने क्रममा ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो ।

प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिएको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, परिषद सदस्य सचिव घनश्याम पौडेल लगायतले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

सम्मानकै क्रममा स्वर्ण, रजत र काश्य पदक विजेता प्रशिक्षकलाई क्रमश १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने गरिएको थियो । टिम व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिएको थियो भने भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिएको थियो । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित भएका थिए ।

खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरुलाई नगदले सम्मान गर्दै प्रोत्साहित गरिएको थियो । नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले बताए । उनले खेलकुदको जग बलियो बनाउनुपर्नेमा जोड दिए ।