भोलि गण्डकी ११ र स्पेनिस टोली बीच मैत्रीपूर्ण फुटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १२ गते २०७९ मा प्रकाशित


पोखरा-फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब काथेरेन्सोसँग गण्डकी ११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि काथेरेन्सोको टोली पोखरा आईपुगेको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहयोगमा पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । जनवरी ३ मा रियल मड्रिड विरुद्ध उत्रिने तयारीमा रहेको काथेरेन्सोले नेपालमा दुईवटा मैत्रीपूर्ण फुटबल खेल्ने छ । पहिलो खेल गण्डकी ११ र दोस्रो दिन काठमाडौंमा खेल्ने छ । लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे भिलानोभाले विश्वमा फुटबलको माध्यमबाट शान्तिको अभियानसहित नेपालमा मैत्रीपूर्ण खेल खेल्न आईपुगेको पत्रकार सम्मेलनमा सुनाए । स्पेनिस टोली मंगलबार दिउँसो पोखरा आईपुगेको हो ।

उनले मैत्रीपूर्ण फुटबल प्रतियोगिताले नेपालको फुटबलमा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । काथेरेन्सो स्पेनको बी डिभिजनको उत्कृष्ठ क्लब हो । उनले बुद्ध जन्मेको लुम्बिनीको देश नेपालबाट शान्तिका लागि फुटबल अभियान शुरु गरिएको स्पष्ट पारे । लुम्बिनी गार्डेन काथरेन्सोमा रहेको भन्दै उनले काथेरेन्सो क्लब नेपालमा मैत्रीपूर्ण फुटबलको लागि आएको बताए । ‘बुद्ध जन्मेको देश नेपालबाट शान्तिका लागि फुटबल अभिायनबाट विश्वमा शान्तिको सन्देश दिन चाहन्छौं ।’ उनको भनाई थियो ।

अध्यक्ष भिलानोभाले मैत्रीपूर्ण फुटबलले नेपाली फुटबलमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गरे । उनले नेपालको फुटबल व्यवस्थित हुदैं गएको उल्लेख गर्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिताले दुई देशले फुटबलबाट केही सिक्ने अवसर पाउने दावी गरे । स्पेनको राष्ट्रिय टोलीबाट सहभागिता समेत जनाईसकेका मिचेलले मैत्रीपूर्ण खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे । मिचेलले आफनो टिम बलियो रहेको उल्लेख गर्दै खेल जित्ने बताए ।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले आत्मबल बलियो बनाएर खेल्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशकै खेलाीहरु समेटेर टोली तयार पारेको जनाउँदै उत्कृष्ट प्रदर्शन रहने बताए । गण्डकी ११ का कप्तान एवं नेपाली फुटबल राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका अनिल गुरुङले मैत्रीपूर्ण फुटबलबाट नेपाली टिम र खेलाडीहरुले धेरै कुरा सिक्ने अवसर पाउने बताए ।