सफल पोखरा म्याराथन आगामी फागुन पहिलो साता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १९ गते २०७९ मा प्रकाशित


पोखरा-सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार हुने छ । १७ औं संस्करणमा आईपुग्दा आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले आधिकारिक समयको लागि ‘चिप’को व्यवस्था गर्ने निर्णय गरेको छ । धावकको जुक्तामा चिपको प्रयोग गरिने मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यो पटक हामी धावकको टाईमिङ लिन ‘चिप’को प्रयोग गर्छौ’ उनले भने–‘चिप धावकको जुक्तामा लगाईने छ ।’

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता पाएको छ । मान्यतासँगै ‘सफल पोखरा म्याराथन’ अन्तराष्ट्रिय म्याराथन सञ्जालमा पुग्ने छ । नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ६ गते शनिबार म्याराथनसँग दौडका अन्य इभेण्टलाई समेत समावेश गरेको छ ।

‘यो विश्वकै उत्कृष्ट म्याराथन हो । जहाँ ७ वटा मन्दिरलाई देख्न पाईन्छ । १७ वटा वडालाई छुन्छ’ नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘उत्कृष्टसँगै चुनौति पनि बढ्दै गएको छ ।’ उनले पछिल्लो समय पोखरामा बढ्दै गएको सवारीले ट्राफिक जामको समस्या निम्त्याउने भन्दै त्यसको निराकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै दिन हुने हुने छ । मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलामिटर हाफ म्याराथन महिला, महिला÷पुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्र÷छात्रा ५ किलोमिटर दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड समावेश गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने समेत समावेश गरिएको उनको भनाई थियो ।

प्रथम पुरस्कार ५लाख पु¥याइएको छ द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेको छ । यसै गरी महिला हाफ म्याराथनले १लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २० । १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

५ किलोमटिर छात्र÷छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ह्विलचियर तथा दृष्टिविहिन पुरस्कार राशीमासमेत केही वृद्धि गरिएको छ । एम्सको मान्यता पाएपछिको यो पहिलो म्याराथन हो । गत मंसिर २४ गते नेपालगन्ज म्याराथन सम्पन्न भईसकेको छ । नेपालमा पोखरा, नेपालगन्ज, प्रधानसेनापति लगायतका म्याराथन प्रतियोगिता आयोजना हुदैं आएका छन् । पोखरा म्याराथनको ९३ लाख खर्चहुने अनुमान गरेका छौं ।