बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७९ मा प्रकाशित


हिमालयन गल्फ कोर्ष । तस्बिर फाईल

पोखरा-सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदैं छ ।
पार ६९ को कोर्षमा नेपालका शीर्ष बरियताका गल्फरहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको कीर्तिमान छ । उनले सन २०१६ मा पार ७० को कोर्षमा त्यतिबेला ९ अण्डर खेल्दै २०१ को च्याम्पियन बनेका हुन् । पार ६९ को कोर्ष बनाएपनि अहिलेसम्म शिवराम श्रेष्ठको कीर्तिमानी ९ अण्डर भने तोड्न सकेका छैनन् ।

१८ होलको पार ६९ कोर्षमा तीन दिन गल्फरले उपाधिको प्रतिस्पर्धा गर्ने छन् । पोखरा, धरान, काठमाडौं लगायत अन्य जिल्लाका व्यवसायिक गल्फरले वेष्र्टन ओपनको लागि प्रतिस्पर्धा गर्ने छन् । तीन दिनपछि प्रो–एमको प्रतिस्पर्धा हुने छ । २३ औं सस्करणको पुरस्कार राशी कुल ८ लाख रुपैयाँ रहेको छ । दुईदिनको प्रतिस्पर्धापछि कट जोगाउने खेलाडीले उपाधिको लागि अन्तिम प्रतिस्पर्धा गर्न पाउने छन् ।

पोखरा–१४ छिनेडाडाँस्थित कोर्षमा बुधबारदेखि हुने प्रतियोगिताको लागि आवश्यक कोर्ष पूर्ण रुपमा तयारी गरिएको कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै कोर्षलाई मर्मत सम्भार गरिएको छ । केहीदिन अघि मात्रै हिमालयन गल्फ क्लबले क्लब च्याम्पियनसिप,वार्षिक च्याम्पियनसिप लगायत विभिन्न इभेण्टमा प्रतियोगिता आयोजना गरेको थियो । गत वर्ष २२ औं संस्करणमा ४ अण्डर २०३ खेल्दै एमेच्योर खेलाडी सुभाष तामाङले उपाधि जितेका थिए ।