शुक्रलाई दोस्रोपटक सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७९ मा प्रकाशित


पोखरा-पार ६९ को हिमालयन गल्फ कोर्षमा अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले पोखरा १४ छिनेडाडाँस्थित कोर्षमा शुक्रबार अन्तिम दिन ५ अण्डर ६४ को कार्ड बनाएपछि उपाधि जित्न सफल भएका हुन् ।

दुईदिनसम्म ४ ओभर १४२ को स्कोरमा टुग्याउँदै अन्तिम दिन उपाधि प्रतिस्पर्धामा रहेका राईले उत्कृष्ट सट खेल्दै ५ अण्डरको ६४ कार्ड बनाए । ५४ होल समाप्तीमा उनले १ अण्डर २०६ को कार्ड बनाउँदै दोस्रो पटक उपाधि जितेका हुन् । उनले २० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन जित्दा ६ अण्डर २०१ को स्कोर थियो ।साविक विजेता एमेच्योर गल्फर सुभाष तामाङलाई दुई स्ट्रोकले पछि पारे । राईले ट्रफीसहित नगद १ लाख ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

राईले फ्रन्ट नाईन एक अण्डर ३३ मा पुरा गरे । व्याक नाईन चार अण्डर ३१ मा टुंग्याए । दोस्रो होलमा बोगी खेपेका राईले तेस्रो होलमा बर्डी हिर्काउँदै स्ट्रोक जोगाए । पाँचौ होलमा फेरी बोगीकै सामना गरे । छैटौं होलमा बर्डी हिर्कउँदै पूर्ति गरे । फ्रन्ट नाईनको अन्तिम होलमा बर्डी हिर्काउँदै एक अण्डरसहित व्याक नाईनलाई सुखद बनाउने लक्ष्यमा देखिए । व्याक नाईनको १० होलमा पार खेल्दै सुखद रहे । १२ औं, १४ औं र १५ औं होलमा बर्डी हिर्काउँदै अन्तिम दिनको १८ होल टुंग्यउँदा ५ अण्डर ६४ को स्कोरमा रहे । हिमालयन गल्फ कोर्षमा पाँच अण्डर उत्कृष्ट प्रदर्शन थियो ।

एमेच्योर गल्फर सुभाष तामाङले अन्तिम दिन भने लय गुमाए । उनले २ ओभर ७१ को कार्ड बनाएपछि उपाधिबाट विमुख हुन पुगे । दोस्रो दिनमा चार अण्डर ६५ को कार्ड बनाउँदै उपाधि रक्षामा देखिएका उनले अन्तिम लय समाउन सकेनन् । फ्रन्ट नाईन एक ओभर ३५ खेले । व्याक नाईन पनि एक ओभर ३६ मा पुरा गरेपछि उपाधि उनको हातबाट फुत्किन पुग्यो ।

भुवन नगरकोटी र सन्जय लामा दोस्रो स्थानमा रहँदै पुरस्कार राशी बाँडे । दुवैले तीन ओभर २१० को कार्ड बनाए । नगरकोटीले अन्तिम दिन फ्रन्ट नाईन इभन पार खेल्दा व्याक नाईन भने तीन ओभर ७२ मा टुंग्याएका थिए । पहिलो होलमा बोगी खेप्दै खेलको शुरुवात गरेका उनले तेस्रोमा पनि बोगी नै खेपे । तर चौथो र छैटौं होलमा बर्डी हिर्काउँदै लयमा फर्किए । १२ औं, १५ औं र १६ औंमा बोगी खेपेपछि उनी सन्जय लामासँग टाई खेल्दै नगद ७८ हजार ५ सय रुपैयाँ पुरस्कार थापे ।

सन्जय लामाले अन्तिम दिन आशलाग्दो सट हिर्काउन सकेनन् । फ्रन्ट नाईन ३ ओभर ३७ मा टुग्याएका थिए । तर व्याक नाईन भने सम्हाल्ने क्रममा एक अण्डर ३४ को कार्ड बनाए । समग्रमा ३ ओभर २१० को स्कोरसहित नगद पुरस्कार ७८ हजार ५ सय रुपैयाँ प्राप्त गरे । जयराम श्रेष्ठले पाँच ओभर २१२ मा टुग्याउँदै चौथो बने । उनले नगद ५५ हजार प्राप्त गरे । रामे मगरले छ ओभर २१३ स्कोरसहित ४७ हजार नगद पुरस्कार थापे । भुवनकुमार रोकाले ९ ओभर २१६ को कार्डसहित छैटौं स्थानमा रहेर ४० हजार ५ सय रुपैयाँ पाए ।

दिनेश प्रजापतिले ११ ओभर २१८ को कार्डसहित सातौं स्थानमा रहे । उनले नगद पुरस्कार ३७ हजार प्राप्त गरे । आठौं स्थानमा दलबहादुर लामा र धनबहादुर थापाले १२ ओभर २१९ को कार्ड बनाउँदै नगद पुरस्कार ३३÷३३ हजार बाँडे । रवि खड्का र निरज तामाङले पनि १० औं स्थानमा टाई खेल्ने क्रममा १३ ओभर २२० को कार्ड बनाए । उनीहरुले २८ हजार ५ सय रुपैयाँ पुरस्कार थापे ।

एमेच्योर तर्फ पोखराका अजित विक दोस्रो स्थानमा रहे । उनले १५ ओभर २२२ को कार्ड बनाए । पोखराका व्यवासायिक गल्फर भूबहादुर गुरुङ भने घरेलु कोर्षमा २२९ को कार्डसहित १५ औं स्थानमा रहे । उनले २१ हजार ५ सय रुपैयाँ प्राप्त गरे । कमल तामाङ १६ औं स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे । नेपाल प्रोफेसनल गल्फर संघको आयोजनामा सञ्चालित प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुने छ ।