क्रिकेटर करण र फुटबलर सावित्रा वर्ष खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०८० मा प्रकाशित


पोखरा-क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सर्वोत्कृष्ट ठहरिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो । यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गरियो । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई दिइयो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारें ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलला घिसिङ, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ लगायतले अवार्ड हस्तान्तरण गरे ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो । पोखरा सभागृह हलमा आयोजना भएको अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती, भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत रहेको थियो ।

अवार्ड अन्तरगतको लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेका थिए ।