सेमिफाईनल समीकरण पुरा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ९ गते २०८० मा प्रकाशित


वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १५ र वडा नं १३ बीचको खेलको उदघाटन गर्ने क्रममा बल हस्तान्तरण गर्दै वडा नं १५ का वडाध्यक्ष तोरण बनियाँ ।

पोखरा-पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १५, वडा नं ३०, वडा नं १४ र वडा नं २७ अन्तिम चारमा प्रवेश गरेका छन् । अब फाईनल प्रवेशको लागि वडा नं १५ ले वडा नं ३० सँग र वडा नं १४ ले वडा नं २७ सँग प्रतिस्पर्धा गर्ने छन् ।

पोखरा रंगशाला फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा वडा नं १५ ले वडा नं १३ माथि सहज जित दर्ता गर्ने क्रममा ४—१ को फराकिलो नजिता निकाल्यो । पहिलो हाफमै दुई गोलले पछि परेको वडा न. १३ले खेलमा फर्किने सम्भावनालाई दोस्रो हाफमा पनि देखाउन नसक्दा उपाधि होडबाट बाहिरिन पुगेको छ । विशाल गुरुङले १० औ मिनेटमा गोल गर्दै वडा नं १५लाई अग्रता दिलाए । उनले दिलाएको अग्रतामा राहुल थापाले २४ औं मिनेटमा अर्को गोल थप्दै अन्तरलाई दोब्बर बनाउँदै वडा नं १३ लाई दबावमा राखे ।

प्रविन गुरुङले ३७ औं मिनेटमा गोल फर्काउँदै वडा नं १३ खेलमा फर्किने संकेत गर्यो । तर गोल फर्काएको एक मिनेट वित्न नपाउँदै विशाल गुरुङले वडा नं १५ का लागि व्यक्तिगत दोस्रो गोल थप्दै गोलअन्तरलाई अझै बढाए । अन्तिम गोल भने मन्जित थापाको नाममा लेखियो । उनले ७५ औं मिनेटमा गरेका थिए ।

त्यस्तै वडा नं ३० ले वडा नं ८ लाई ३—२ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल सुरक्षित बनायो । पुकार थापाले खेलको चौथो मिनेटमा गोल गर्दै वडा नं ३० लाई अग्रता दिलाए । खेलको १३ औं मिनेटमा अग्रता दोब्बर हुन पुग्यो । सुजु कुँवरले आत्मघाती गोल उपहार दिदाँ वडा नं ३३ले अग्रतालाई दोब्बर बनायो । खेलको ३८ औं मिनेटमा सुन्दर महत र ४४ औं मिनेटमा सुजु कुँवरको गोलमा वडा नं ८ ले खेललाई बराबरीमा ल्याउँदै प्रतिस्पर्धात्मक बनायो । यद्यपी ४६ औं मिनेटमा प्रितम थापाले गोल गर्दै वडा नं ३० लाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।


तेस्रो खेलमा वडा नं १४ र वडा नं ३२ लाई २—० गोलले पन्छायो । आनन्द रेग्मी र आशिष कार्कीको गोलमा वडा नं १४ सेमिफाईनल प्रवेश गर्यो । त्यस्तै वडा नं २७ ले वडा नं २४ माथि प्रतिस्पर्धात्मक खेलमा ४—३ को गोलअन्तरको जित निकाल्यो ।अपिल गुरुङले १३ र ३७ औं मिनेटमा गोल गर्दा रोशन गुरुङले ६३ औं र सन्देशराज तिमिल्सिनाले इन्जुरी समयमा(७४ औं मिनेट) गोल गरेका थिए । उता वडा नं २४ का लागि शंकर केसीले ६० औं र सफल कार्कीले ६६ औं र इन्जुरी समय(७१ औं मिनेट)मा गोल फर्काए ।

प्रतियोगितामा पोखरा महानगरका ३३ वडा मध्ये ३० वडाले सहभागिता जनाएका छन् । विजेता वडाले नगद १ लाख ५० हजार राशी पुरस्कार पाउँदा उपविजेता वडाले नगद १लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै सर्वोत्कृष्ठ खेलाडीले नगद १५ हजार र विधा पाँच खेलाडी तथा प्रशिक्षकले नगद ५÷५हजार नगद पुरस्कार प्राप्त गर्ने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।