ओलम्पियनलाई पोखरामा सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २० गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले ओलम्पियनहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।

शनिबार पोखरामा दोस्रो ओलम्पियन पुर्नमिलन तथा सम्मान समारोहमा उपस्थिति ओलम्पियनलाई स्वागतसहित प्रभातफेरी आयोजना गरियो । बिहान पोखराको हल्लनचोकबाट बाराहीघाटसम्म प्रभातभेरी गर्दै कार्यक्रम शुरु गरिएको थियो । नेपालले ओलम्पिकमा सहभागिता जनाएको ५६ वर्ष पुगेको छ ।

५६ वर्षको अवधिमा ९० जना ओलम्पियनले सहभागिता जनाईसकेका छन् । सबैभन्दा धेरै एथलेटिक्सबाट सहभागिता जनाएको इतिहास छ । त्यस्तै बक्सिङ, जुडो लगायतका खेलहरुबाट समेत ओलम्पिकमा नेपालले उपस्थिति जनाईसकेको तथ्य छ । नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडीहरु पुर्नमिलनको लागि पोखरा आइपुगेका थिए ।

शनिबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गरेका हुन् । सम्मानित हुनेमा दलबहादुर रानालाई महानगरले मरोणपरान्त सम्मान गरेको हो । त्यस्तै पुष्पराज ओझा, अर्जुन पण्डित, अभिरी यादव, मानबहादुर श्रेष्ठ, जगदिश प्रधान र सुरेन्द्र हमाललाई सम्मान गरिएको हो । सम्मानपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरे । गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागिता जनाईसकेका ७ जना खेलाडीहरु छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ओलम्पियनहरुलाई मायाको चिनो प्र्रदान गरेका थिए । महानगर प्रमुख आचार्यले ओलम्पियन खेलकुदका जीवित भगवानको संज्ञा दिए । ‘ओलम्पियन जीवित भगवान हुन् ।’ उनको भनाई थियो । प्रमुख आचार्यले उपस्थित ओलम्पियनलाई हिमालको चित्र मायाको चिनो प्रदान गरेका थिए । पोखरामा आयोजित दोस्रो पुर्नमिलन तथा सम्मान कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

सीमित स्रोत र साधनबीच ६ दशकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व हुनु प्रशंसनीय रहेको मेयर आचार्यले बताए । आफूहरु पोखरालाई पर्यटनको शहर घोषणा गर्ने अभियानमा रहेको र त्यसका लागि खेलकुद पर्यटन महत्वपूर्ण अंग भएको बताए । ‘पोखरामा नवौं राष्ट्रिय खेलकुद भयो । खेल नभएको कुनै हप्ता छैन,’ उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा भइरहेका छन् । हामीले पनि कुन खेललाई अघि बढाउन के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ मेयर आचार्यले भने ।

प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ओलम्पियनहरूको अनुभव आफूहरूलाई नीति–नियम बनाउन सहयोगी हुने भएकाले समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी प्रदेशका कुन जिल्लामा कति छन् भन्ने तथ्यांक संकलन भइरहेको जानकारी दिए ।