पोखरा- प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगितामा प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा आयोजित प्रतियोगितामा उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे ।
४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे । ५५ केजी तौलतर्फ स्याङजाका निरज रानामगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।
पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जयकुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिलाबहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे । त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।
महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहे ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्री लगाययले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशका अध्यक्ष शिवबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन भने क्योकुशिन कान कराँते नेपालका ब्रान्चचिफ लक्ष्मण कुँवरले गरेका थिए ।