पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २६ गते २०८० मा प्रकाशित


पोखरा-आज शुक्रबारदेखि पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको छ ।

प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमका खेलाडीहको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत इपी जुनियर महिला र पुरुषतर्फ गरी छुट्टा छुट्टै व्यक्तिगत विधा तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले बताए । त्यसै गरी खुल्ला फोयल महिला तथा पुरुषतर्फ समेत व्यक्तिगत तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने उनले बताए । फाईनल शनिबार हुने छ ।