मदरल्याण्ड माविद्धारा महिला फुटबलर सावित्रा सम्मानित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०८० मा प्रकाशित


पोखरा-पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी (सम्बा) लाई नगद सहित सम्मान गरेको छ । भण्डारीलाई नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल लगायतले सम्मान गरेका हुन् । फुटबलर भण्डारीलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको हो ।

सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् । फुटबलमा गरेको योगदान कदर गर्दै विद्यालय सम्मान गरेको प्राचार्य बरालले बताए ।

भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन् । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफु खेलकुदमा लागि रहने बताइन् ।

मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबार देखी भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले उद्घाटन गरे । बानियाँले रेफ्री फुटबल सघं कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

उनले विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक एवम् सहकार्यकलाप अन्तर्गत ऐतिहासिक उपलब्धिहरू हासिल गरी राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएकामा प्रशंसा गरे । तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।