चीनको सिचुवान ड्रागन बोट रेस टिम च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ९ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा आयोजित ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो)ले जितेको छ । शुक्रबारदेखि शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस महोत्सव अन्तर्गत शनिबार ५ सय मिटरको प्रतिस्पर्धा भएको थियो । पाँचसय मिटरको प्रतिस्पर्धामा सिचुवान टोलीले दुई चरणमा गरी ४ मिनेट ३८.३३ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्यो । टोलीले शुक्रबार दुई सय मिटरको प्रतिस्पर्धा एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गरेको थियो ।

नेपालको नारा ड्रागन बोट टिम दोस्रो स्थानमा रह्यो । पाँचसय मिटरको दोस्रो दिनको प्रतिस्पर्धामा नेपाली टोलीले ४ मिनेट ४७.२९ सेकेण्डको समय लगायो । नेपाली टिमले पहिलो दिनको २ सय मिटरको टास्कलाई १ मिनेट ५३.१४ सेकेण्डको समयमा पुरा गरेको थियो ।
४ मिनेट ५३.२२ सेकेण्डमा दोस्रो दिनको ५ सय मिटरको टास्क पुरा गर्दै युनान ड्रागन बोट टिम तेस्रो बन्यो । अघिल्लो दिन २ सय मिटरको रेसमा पनि युनान ड्रागन बोट टिम तेस्रो स्थानमै रहेको थियो । चौथो स्थानमा नेपालको एनआरसिए ड्रागन बोट टिम आउन सफल भयो । शनिबारको प्रतिस्पर्धामा टोलीले ५ मिनेट ०२.१८ सेकेण्डको समय लगाएको थियो ।

पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसको फाईनल प्रतिस्पर्धामा नेपालका दुई र चीनका दुई टोली थिए । दुई दिने बोट रेस महोत्सवको पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रुपमा रहेका थिए । महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम गरिएको थियो । साँस्कृति कार्यक्रमले सर्वसाधारणलाई आकर्षित गरेको थियो ।

बोट रेसमा च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेण्टमा शीर्षस्थानमा रहँदै ५ लाख ५० हजारको दरले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो स्थनमा आएको नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेण्टमा गरी ७ लाख रुपैयाँ प्राप्त गरे । मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिमले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । नेपालकै अर्को टोली एनआरसिएले शीर्ष चारभित्र रहँदै प्रतिपस्र्धा टुग्याएको थियो । बोट रेसमा सहभागिता जनाएका ८ वटै टिमलाई नगद एक एक लाख रुपैयाँ प्राप्त गरेका छन् । बोट रेस टिम विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चीनिया राजदूत छन छोङ, पोखरा महानगरपालिकाका मेयर धनाज आचार्य लगायतले ट्रफीसहित नगद हस्तान्तरण गरेका थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । दुईदिनसम्म चल्ने बोट रेस महोत्सवमा मा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको थियो ।