कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २२ गते २०८० मा प्रकाशित


पोखरा-कास्की जिल्ला फटुबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चार क्लबलाई फुटबल हस्तान्तरण गरेको छ । क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ । सोमबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरेका हुन् ।

कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई पाँच पाँच थान फुटबल हस्तान्तरण गरिएको हो । सहारा र संगमलाई भने संघले एकेडेमी सञ्चालन गरेको भन्दै बल हस्तान्तरण गरिएको हो । संघले एन्फा कास्कीको एकेडेमीलाई २५ थान हस्तान्तरण गरेको छ ।

बल हस्तान्तरणपछि बोल्दै सदस्य सचिव शर्माले प्रदेशको फुटबलको स्तर विगतमा भन्दा खस्कदै गएको जनाउँदै फुटबल विकासको लागि संघले क्लबहरुलाई एकेडेमी सञ्चालनमा प्रेरित गर्नुपर्ने उल्लेख गरे ।

उनले एकेडेमीलाई दिईने फुटबल लगायत सामाग्रीले फुटबलको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । उनले बालबालिकालाई मैदानसम्म ल्याउने बातावरण क्लब तथा संघ एवं खेलकुदसँग सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबल विकासको लागि पहिलो प्राथमिकता नै बल भएको बताए । खेलाडीहरु भएपनि बल विना प्रशिक्षण नहुने भन्दै क्लब र एकेडेमीलाई बल हस्तान्तरणपछि फुटबलमा नयाँ आयाम आउने विश्वास लिएको उनले सुनाए ।

अध्यक्ष रन्जितले पोखरा–११ भेट्रान टोली तमुधि युकेको निमन्त्रणमा गएको बेला त्यहाँका सहयोगी मनले बलको लागि आर्थिक सहयोग गरेको बताए । खास गरी एन्फा कास्कीका राजदूत युके बस्ने कमल गुरुङ, युकेमै बस्ने हुपबहादुर थापा, तमुधिं युके, बगरभाइखलक युके, सहारा क्लब युके लगायतले विशेष सहयोग गरेको प्रति अध्यक्ष रन्जितले आभार व्यक्त गरे । कार्यक्रम सञ्चालन संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले गरेका थिए ।