म्याग्दी, पर्वत र बाग्लुङमा जिल्ला मुवाथाई संघ गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २९ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशका तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको छ । नेपाल राष्ट्रिय मुवाथाई महासंघको परिपत्र अनुसार गण्डकीको म्याग्दी, पर्वत, बाग्लुङ जिल्ला गठन गरिएको छ । गण्डकी प्रदेशका उपाध्यक्ष एवं संयोजक दिपकबहादुर गोदारको उपस्थितिमा तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको हो ।

मुवाथाई खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको संयोजक दिपकबहादुर गोदारले बताए । उनले लामो समयदेखि दुई भन्दा बढी मुवाथाई संघ चर्चामा रहेपछि राष्ट्रिय खेलकुद परिषदले एकै प्रकृतिका खेललाई एउटै महासंघ गठन गर्ने निर्देशन अनुसार नै नेपाल राष्ट्रिय मुवाथाई महासंघ गठन भएको उल्लेख गरे । महासंघकै निर्देशन अनुसार गोदारलाई संयोजक बनाई प्रदेश खेलकुद परिषद गण्डकीलाई समेत पत्रचार गरेको थियो । प्रदेशका जिल्लाहरुमा गठनको जिम्मेवारी उपाध्यक्ष समेत रहेका गोदारलाई सुम्पिएको थियो ।

महासंघकै पत्र अनुसार तीन जिल्लामा जिल्ला मुवाथाई संघ गठन गरिएको बताए । गोदार नेपालकै पहिलो मुवाथाई प्रशिक्षक समेत हुन् । उनले २०६४ सालमा थाईल्याण्डमा प्रशिक्षण लिएर फर्किएपछि पोखरामा मुवाथाईको खेलको शुरुवात गरेका थिए । उनै गोदारलाई राष्ट्रिय मुवाथाई महासंघले जिल्ला तहसम्म मुवाथाईको खेल प्रवद्र्धन गर्ने जिम्मेवारी दिएको हो । गोदारकै उपस्थितिमा बाग्लुङ जिल्ला अध्यक्षमा रबिन्द्र खड्का, उपाध्यक्षमा समीर छन्त्याल सचिवमा नविन विक, कोषाध्यक्षमा प्रतिक्षा श्रीस राना रहेको १५ सदस्यीय समिति गठन गरिएको छ ।

त्यसैगरी म्याग्दीमा जनक सोनामको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा अनिष गौचन, सचिव कृष्ण कार्की र कोषाध्यक्ष दिव्या थजाली रहेका छन् । त्यस्तै पर्वत मुवाथाई संघको अध्यक्षमा दिपेन्द्र सुवेदी चयन भएका छन् । पर्वतमा ९ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा नविन अधिकारी, सचिवमा सुमित सुवेदी र कोषाध्यक्षमा अनिता श्रेष्ठ रहेका छन् । तीनै जिल्लाका जिल्ला खेलकुद विकास समितिले मुवाथाई संघ गठन गरिएको जानकारी पत्र समेत प्रदेश खेलकुद परिषद गण्डकीलाई पठाएका छन् । राष्ट्रिय मुवाथाई महासंघका अध्यक्ष गणेश लाल कक्षपतिले जिल्ला गठनको लागि जिम्मेवारीको पत्रसहित प्रदेश खेलकुद परिषद गण्डकीमा पत्रचार गरेका थिए ।