८० किलोमिटर पन्चासे अल्ट्रा रेस कार्तिक तेस्रो साता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २५ गते २०८० मा प्रकाशित


पोखरा-‘ओभर दि क्लाउड्स’(बादल भन्दा माथि) । सायद धावकहरु निकै उचाईमा पुग्नुपर्ने भएकोले नै होला नारा नै बादल भन्दा माथि तय गरिएको । नेपालकै पुरानो मध्येको ट्रेल रेसको आगामी कार्तिक १८ गते हुने संस्करणको नारा यही हो । धावकहरु मर्दी हिमाल टे«क अन्तर्गत बादलडाँडा पुगेर ओर्लिने छन् । बादल डाडाँ समुद्री सतहदेखि झण्डै ३३ सय मिटरको उचाईमा पर्छ ।

नेपालमा कर्णालीमा आयोजना हुने रारा ट्रेल रेस, रुकुममा हुने गोरिल्ला ट्रेल रेस निकै चर्चामा छन् । ती सँगै पोखरामा आयोजना हुने पोखरा ट्रेल रेस निकै चर्चित छ । दौडिनैका लागि विदेशबाट समेत धावकहरु पोखरा आईपुग्ने गरेका छन् । नेपालकै विभिन्न जिल्लाबाट धावकहरुले आफुलाई ट्रेल रेसमा सहभागिता गराउँदै नयाँ अनुभव बुटल्न चाहन्छन् । ट्रेल रेस मार्फत विदेशी धावक अंक बुटल्न पोखरा आउने गरेका छन् । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षेनी लामो र छोटो दुरीको ट्रेल रेस गर्दै आएको छ । तीन महिना अघि मात्रै २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो ।

आगामी कार्तिक १८ गते(नोभेम्बर ४) आयोजना हुने दौड ८० किलोमिटरको हुने छ । पन्चासे अल्ट्रा रेसको नाम दिइएको छ । जहाँ तीनवटा इभेण्ट्सलाई समेटिएको छ । ‘पन्चासे अल्ट्रामा ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको दौड तय गरिएको छ’ पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले भने–‘५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्याण्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउने छन् ।’ पोखरामा आयोजना हुने रेसलाई अन्तराष्ट्रिय ट्रेल रनिङ एशोसियनले धावकहरुलाई आईटिआरए प्वाईन्ट्स(अंक) दिने उनको भनाई थियो ।

ट्रेल रेसको यो नवौं संस्करण हो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा ट्रेल रेस सिरिज’ ले गर्दै आएको छ । पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ । ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(ट्रेल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं ।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो ।

दौडमा अमेरिका, बेलायत, भियतनाम लगायतका देशहरुका धावकले नाम दर्ता गरिसकेका छन् । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको ल्वाङ गाँउबाट दौड शुरु हुने छ । ८० किलोमिटरको उक्त दौड लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडाँ पुगेर फर्किने छन् । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुदै पोखराको खपौदी पुगेर दौड समापन गर्ने छन् । दौडलाई पोखराको गोल्ड्स जीमले फिटनेस पार्टनरको रुपमा सहयोगी भूमिका खेलेको छ । नर्थ नेपाल ट्राभल्स र ट्रेकर्सले ट्राभल्स पार्टनरको रुपमा रहेको छ । दौडमा फन रनको लागि ७ किलोमिटर र बालबालिकाको लागि १ किलोमिटरको दौड समावेश गरिएको छ । बालबालिकालाई स्वाथ्यप्रति सचेतनासँगै खेलकुदप्रति आकर्षण गर्ने उद्देश्यसहित गत संस्करणबाट इभेण्टलाई समावेश गरिएको उनले जानकारी दिए । दौडका विजेतालाई नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।