
पोखरा-मंसिरको दोस्रो साता पोखरा रंगशालामा आयोजना हुने फिष्टेल रेसिङ कपको ट्रयाक ले–आउट तयार भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिको आयोजना हुने रेसिङ कपको ट्रयाक ले आउट तयार गरिएको हो । ट्रयाक ले–आउट १ दशमलव ३ किलोमिटरको हुने छ । तयार गरिएको ले–आउट अनुसार बायाँ तीन घुम्ती र दायाँ दश घुम्ती रहेको भिआर–४६ मोटर स्पोर्टस प्रालिले उल्लेख गरेको छ ।
फिष्टेल रेसिङ नेपालकै लामो ट्रयाक भएको बाईक रेस हो । एकदशमलव ३ किलोमिटरको ट्रयाक छ । प्रत्येक राईडरले ट्रयाक दशपटक((दशल्याप) घुम्नुपर्ने हुन्छ । ‘राईडरले दश फन्को(टेन ल्याप) लगाउँछन् ।’ भिआर–४६ मोटर स्पोर्टस प्रालिका प्रवन्ध निर्देशक माइकल थापाले भने–‘टाईमल्यापको आधारमा छनोट गरिने छ ।’ उनका अनुसार प्रत्येक राईडरले दशल्याप गर्दा १ सय ३० किलोमिटर पुरा गर्ने छन् । उनका अनुसार आयोजकले छनोटको लागि दिने टाईमल्याप भित्र आएको अवस्थमा मात्रै छनोट हुने छन् ।
बाईक रेसको लागि जिल्ला खेलकुद विकास समिति कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका लगायतका सम्बन्धित निकायबाट स्वीकृति लिईसकेको प्रालिका निर्देशक थापाले बताए । नोभेम्बर २४ र २५ तारिख (मंसिर ८–९ गते) हुने रेसको इभेण्टसँगै आयोजकले दर्शकको लागि फुड एण्ड म्युजिकलाई समावेश गर्ने जनाएको छ । रेसमा एकसय भन्दा बढी राईडरको सहभागिता रहने विश्वास उनको छ ।
निर्देशक थापाका अनुसार राईडरले सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने हुन्छ । नासा र आयोजकको मापदण्ड पुरा गरेका राईडरको दुर्घटना विमा हुने छ । ‘राईडरले आवश्यक सबै मापदण्ड पुरा गरेको हुनुपर्छ’ उनले भने–‘रेसमा भाग लिएका राईडरको सुरक्षाको मापदण्ड नपुगे विमाको सुविधाबाट बन्चित हुनसक्छन् ।’ आयोजकले पाँचलाखसम्मको दुर्घटना विमा गरेको छ । प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरी दुई प्रकारका बाइकहरुको प्रयोग गर्न पाईने छ । राईडरले आफनै मेकानिक राख्नुपर्ने प्रावधान छ । ‘राईडरको टिम प्याडक(छाता ओढाउने) र मेकानिका हुनै पर्छ ।’ उनको भनाई थियो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमश जनही नगद रु १ लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । विजेता तीनै जना बाईक राईडरलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको लागि पठाईने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च अनुमान छ ।