एलजी एसोसिएसनलाई लामाचौर कपको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २६ गते २०८० मा प्रकाशित


पोखरा-पोखराको लामाचौरमा आयोजित प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजी एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौरस्थित गोस्ते खेल मैदानमा भएको फाईनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा पराजित गदैै उपाधि जित्यो । च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित ट्रफी उचाल्यो । उपविजेता एन टुले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

निर्धारित समयमा १–१ को गोलको बराबरीमा रोकियो । खेलको निर्णय टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडनडेथमा गयो । सडन डेथमा (५–४ गोलअन्तर) एलजीले हराउँदै उपाधि आफनो नाममा लेखायो । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए ।

खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजिका अनुज भण्डारी चुनिए । उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजिकै ओम गुरुङ घोषित भए । एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए । उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो । गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।