पोखरा-त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
भीम सार्कीले इनिङ सम्हाल्दै जितको हकदार बनाए । ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए । जितको लागि दुई रन आवश्यक हुदाँ सार्की रित गौतमको पहिलो ओभरको तेस्रो बलमा सागर ढकालको हातबाट क्याच भए । सोमपाल कामीले रित गौतमको ओभरको अन्तिम बलमा एक रन लिदैं जित सुनिश्चित गरे । कामीले १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे ।
छैटौं नम्बरमा आएका कुशल मल्लको विष्फोटक व्याटिङ देख्ने अवसर दर्शकले पाए । उनले ८ बलमा २७ रनको स्कोर बनाए । चार चौका हिर्काए । आर्मीले जितको लागि पाएको १२८ रनको लक्ष्य १५ ओभरमा पुरा गर्यो । मल्ल नवौं ओभरमा सन्दीप लामिछानेको बलमा शुभ कन्साकारको हातबाट क्याच भए । आर्मीका ओपनर सन्तोष कार्की सस्तैमा आउटभएपछि अर्का ओपनर विनोद भण्डारीले भने १२ बलमा ३ चौका र दुई छक्कासहित २५ रन बनाए । बलरलाई दबाव बनाउने क्रममा भण्डारीको व्याटबाट रन बनिरहँदा लामिछानेले रोशन विकको हातबाट क्याच गराई पभेलियनको बाटो देखाए । लामिछानेले २ विकेट लिए ।
प्रतिक श्रेष्ठको अर्धशतकको योगदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितको लािग १२८ रनको लक्ष्य दिएको थियो । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबार टस जितेर व्याटिङ गरेको बागमतीले श्रेष्ठले छैटौं नम्बरमा आउँदै अविजित ५० रन बनाउँदै सम्मानजनक स्कोर खडा गरे । ४४÷६ को दयनीय अवस्थामा पुगेको बागमतीको इनिङ सम्हल्दै श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्का सहित ५० रन बनाए । उनले सातौं विकेटको लागि सन्दीप लामिछानेसँग ५२ रनको साझेदारी गरेका थिए ।
केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनलमा बागमतीको शुरुवात राम्रो हुन सकेन् । शुभ कन्साकारलाई केवल ३ रनमा गुमाएको बागमतीले दोस्रो विकेट इशान पाण्डेलाई गुमायो । दुवै व्याटर क्रमश सोमपाल कामी र सहाब आलमको बलमा आउट हुन पुगे । रित गौतमको व्याट पनि सेमिफाईनलमा चलेन् । उनले केवल १४ रन बनाए । १ चौका र १ छक्का हिर्काए । सन्दीप लामिछाने १९ रनमा खेलिरहँदा सोमपाल कामीको हातबाट क्याच हुदैं पभेलियन फर्किए । उनले २२ बलखेल्दै २ चौका र १ छक्का हिर्काए । सोनु देवकोटा ९ रनमा अविजित रहे । आर्मीका बलर सहाब आलमले ४ ओभरमा एक मेडन राख्दै १४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीको हातमा दुई विकेट रह्यो । आर्मीका आलम प्लेयर अफ दि म्याच घोषित भए ।