धावकलाई अनलाईनमै प्रमाणपत्रको व्यवस्था

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३० गते २०८० मा प्रकाशित


पोखरा-२२ वर्ष अघि स्थापना भएको भूतपुर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ । खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ । जुन म्याराथन नेपालकै पुरानो र सर्वाधिक पुरस्कार राशीको समेत हो । सिटी म्याराथनको अवधारणाबाट अघि बढेको पोखरा अन्तराष्ट्रिय म्याराथन अन्तराष्ट्रिय छवि बनाईसकेको छ । पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि थप चर्चा चुलिएको थियो ।

म्याराथनकै तयारीमा रहेको मञ्चले आफना आजिवन सदस्यसँग छलफल गरेर सुझाव लिएको छ । पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गरे । आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जीवनपश्चात रिटायर्डको समयमा अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको सुनाए । उनले खेलकुदको विकाससँगै हाल रहेको पोखरा रंगशालालाई अतिक्रमणको चपेटाबाट बचाउने काम समेत मञ्चले नै गरेको सुनाए । मञ्चले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्याराथन प्रविधीमैत्री हुँदै जादा थप चुनौतीहरु बढेको सुनाउँदै मञ्चका लागि योगदान दिने दिवंगत भएका सदस्यहरुलाई समेत सम्झिए ।

मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले ३२ जना सदस्यहरुको मृत्यु भइसकेको र मृत्यु भएकाहरुले गरेको योगदान अविस्मरणीय रहेको उनको भनाई थियो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका गुरुङले म्याराथनलाई थप सुरक्षित बनाउनका लागि यो वर्ष सबै इभेन्टमा चिपको जडान गर्ने तयारी भइरहेको र म्याराथनलाई प्रविधिमैत्री बनाउनका लागि फारम दर्तादेखी धावकले प्रमाणपत्रसम्म अनलाइनमै पाउने व्यवस्थाको तयारी गरेको सुनाए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पुगेको उनको भनाई थियो । पोखरा महानगर म्याराथन सँग जोडिएको र यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि छलफल गरि अघि बढ्ने समेत सुनाए ।

कृषि विकास बैंकका निर्देशक घनेन्द्र अधिकारीले कृषि विकास बैंकले सह–प्रायोजकको भूमिका निर्वाह गर्दा आगामी दिनमा मुख्य प्रायोजककै रुपमा रहन सक्ने समेत सुनाए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे । मञ्चले आगामी फागुन ५ गते म्याराथन आयोजना गर्दैछ । म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र÷छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन र रन फर फनको आयोजना गर्दै आइरहेको छ ।