पुरस्कार राशीमा बृद्धि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ६ गते २०८० मा प्रकाशित


पोखरा-आगामी माघको १ गतेदेखि शुरु हुने चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ ।

टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितामा दुई विदेशी टोलीले सहभागिता जनाउने छन् । महिला तर्फ हरियाणा पुलिस क्लब(भारत) र पुरुष तफ श्रीलंका आर्मी टिम(श्रीलंका)ले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि प्रतिस्पर्धा गर्ने टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जनाए । उनका अनुसार विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए । तेस्रो संस्करणमा भने महिला तर्फ नेपाल पुलिस क्लबको सहभागिता रहेको थिएन ।

महिला तर्फ सशस्त्र प्रहरी बल(एपिएफ क्लब), न्यु डायमण्ड युथ स्पोर्टस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागित रहेको उनले जानकारी दिए । चौथो संस्करणको प्रतिस्पर्धाको लागि ग्रुपले पोखरा रंगशालाभित्रको भलिबल प्रशिक्षण केन्द्रको मैदानलाई मर्मत सम्भार शुरु गरिसकेको छ ।

प्रतियोगितामा विजेता महिला तथा पुरुष दुवै टोलीले समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । यो गतवर्षको भन्दा ५५ हजार रुपैयाँ बृद्धि गरिएको हो । गत वर्षको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थानमा रहने टोलीले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए । उनका अनुसार पुरुष तर्फ सहभागित विदेशी टोली श्रीलंकाको आर्मी टोली उत्कृष्ट टोली हो ।

पुरुष तथा महिला सर्वोत्कृष्ठ खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । दुवै इभेण्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए ।