एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष समापन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०८० मा प्रकाशित


पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ । पहिलो चरणको मंसिर २० गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको पुस २२ गतेदेखि २६ गतेम्म पोखरा रंगशालामा प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षणमा विभिन्न जिल्ला र क्लबका गरी २४ जनाको सहभागिता रहेको थियो । दुई चरणको प्रशिक्षणमा प्रमुख प्रशिक्षक(शिक्षा) सन्जित सिंह र प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलाडी, डी लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले) सहभागिता जनाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले बताए । प्रशिक्षणको नजिता केही दिनपछि मात्रै प्रकाशन गरिने अध्यक्ष रन्जितले जानकारी दिए ।

कोचिङ कोर्षमा खास गरी गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकता दिईएको थियो । कोर्ष पहिलो चरणको एकहप्ताको थियो । प्राविधिक रुपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान राखिएको थियो । पास भएकाहरुले मात्रै लाईसेन्स पाउने छन् । कोर्ष दुईचरणमा हुने छ । दोस्रो चरणको कोर्ष भने पाँचदिन गरिएको कास्की जिल्ला फुटबल संघले जनाएको छ । बिहीबार कोचिङ कोर्षमा सहभागिता जनाएका प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, केन्द्रीय सदस्य मणिराज विष्ट, कास्की जिल्ला खेलुदका विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।