file pic
पोखरा-अबको एक महिना पछि पोखरामा अन्तराष्ट्रिय पोखरा म्याराथन हुदैं छ । प्रतियोगिताको एक महिना अघि मात्रै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई १७ वर्षपछि फेरेको छ । १८ औं संस्करणमा आईपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदैै म्याराथन पुरा गर्ने छन् । शुरुवात पोखरा रंगशालाबाट हुने छ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौर(साईट)मा हुने छ । म्याराथन आगामी फागुन ५ गते शनिबार हुने छ ।
भुतपूर्व खेलाडी मञ्चले एक महिना अघि मात्रै नयाँ रुटका खोजीमा अध्ययन शुरु गरेको थियो । पुरानो रुट अधिकांश राजमार्गमा हुदैं दौडिनुपर्ने बाध्यता थियो । राजमार्ग भएकै कारण निकै जोखिम थियो । सवारीकै कारण ट्राफिक व्यवस्थापनमा समस्या, धुलो र धुवाँले धावकलाई असर परेको जनाउँदै मञ्चले नयाँ रुट खोजी अभियान गरेको थियो । ‘पुरानो रुटमा राजमार्ग थियो । धुलो र धुवाँ उस्तै अनि ट्राफिक व्यवस्थापनमा समस्याले नयाँ रुट पहिचान गर्यौं’ भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘धावकलाई प्रकृति र सँस्कृति देखाउने योजना अनुसार नयाँ रुट तय गरिएको छ ।’
उनका अनुसार नयाँ रुटलाई गुगल म्यापमा समेत सर्च गर्न सहज हुने छ । दौड पोखरा रंगशालाबाट शुरु हुन्छ । तीन किलोमिटर राजमार्ग दौडिदैं पोखराको औद्योगिक क्षेत्रभन्दा केही पर पुगेर उत्तर तर्फ कदम मार्गको बाटो हुदैं उक्लिने छ । कदम मार्गबाट विपी मार्ग, गौंडाकोमुख, भद्रकाली, सयपत्री चोक(रानीपौवा), जनताचोक, पहेलो पुुल तरेर धावक पृथ्वीनारायण क्याम्पस तर्फ उक्लिने छन् । क्याम्पसबाट सिम्पानी चोक, हरिचोक, जिरोकिलोमिटरबाट हल्लनचोक पुग्ने छ । हल्लनचोकबाट खहरे, खपौदी, पामे हुदैं घाँटी छिना पुगेर धावक फिर्ता हुने छन् । घाँटीछिनाबाट फर्केर हल्लनचोकस्थित क्याम्पिङचौर(साईट)मा पुगेर धवकले म्याराथन पुरा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।
मञ्चले महिला हाफ म्याराथनको रुट समेत परिवर्तन गरेको छ । महिला हाफ म्याराथनमा पनि सोही रुट दौडिने छन् । यद्यपी महिला धावकले खहरेभन्दा केही पर खपौदीस्थित रोटरीको बोर्डबाट फर्किएर क्याम्पिङ चौरमा टुग्याउने छन् । १० किलोमिटर खुल्ला दौडको रुट भने पोखरा रंगशालाबाट शुरु भई रानीपौवास्थित दुरसञ्चार हुदैं महेन्द्रपुल, वि.पी चोक, सिदार्थचोक, पस्र्याङचोक, जिरोकिलोमिटर, हल्लनचोक हुदैं क्याम्पिङचौरमा पुगेर समापन हुने अध्यक्ष पराजुलीले जानकारी दिए । म्याराथनमा १० देशका धावकहरुले नाम दर्ता गरिसकेका छन् । उनका अनुसार बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, जापान, साउदी अरेबिया, ताईवान र बेलायतका धावकहरुको नाम दर्ता भईसकेको छ ।
सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथन विजेताले ५लाख रुपैयाँ प्राप्त गर्ने छ । द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । महिला हाप mम्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ५ किलोमटिर छात्र÷छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।