तीन उमेर समूहमा प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०८० मा प्रकाशित


पोखरा-पोखराको पुरानो टुँडिखेलमा नेपालकै उत्कृष्ट भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणको हिमालयन ब्रुअरी तथा १३ औं बगर भाइखलक फुटबल प्रतियोगिता हुदैं छ । पर्सी शनिबारदेखि टुँडिखेल खेल मैदानमा तीन विधाको भेट्रान फुटबल प्रतियोगिता शुरु हुने आयोजकले जनाएका छन् ।

एट ए साइड फुटबल प्रतियोगिताको तीन विधाम ३६ टिमको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।

‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उदेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो’ उनले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं’ ।’संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका केसी वरिष्ठ प्रशिक्षक हुन् ।

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ ।

६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि रहेको छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ । विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।