१३ राष्ट्रका ५० विदेशीको सहभागिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०८० मा प्रकाशित


पोखरा-पछिल्लो संस्करणमा पोखरा म्याराथनमा विदेशी घावकहरुको सहभागिता बढ्दै गएको छ । आगामी शनिबार हुने १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका धावकहरुले सहभागिता जनाएका छन् । यो पोखरा म्याराथनको इतिहासमै सर्वाधिक देशका धावकको सहभागिता रहेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा १३ देशका ५० धावकको सहभागिता रहेको छ । यद्यपी म्याराथनमा १ सय ८ धावकले प्रतिस्पर्धा गर्ने छन् ।

महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहेको मञ्चले जनाएको छ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।