पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसंगै कास्कीले दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता तनहुँले एक लाख रुपैयाँमा पाउन सफल भयो ।
निर्धारित समयमा दुबै टिम गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।
तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका सन्तबहादुर गुरुङ घोषित हुँदै नगद १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए । उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ ९एन्फा०का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका बरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।