पोखरा-गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । पोखरा महानगर ह्याण्डबल संघका अध्यक्ष विशाल बस्नेत, तेक्वान्दोकी रेखमाया गुरुङ, विनिता सार्की(मोर्डन पेन्टाथलन), राजेश बास्कोटा(जिमन्याष्टिक),पवित्रा गुरुङ,(हक्की), योगेन्द्र थापा(उसु), सन्दीप बराल(फेसिन्ङ), प्रियंका बर्मा(बक्सिङ), विवेक हमाल(शारीरिक सुगठनं, प्रदीप रेग्मी(मेन्स स्पोर्टस फिजिक), विजय कार्की(सुटिङ), मोनिका रानामगर(आर्चरी), रिता थापा श्रेष्ठ(प्याराग्लाईडिङ) विजय महतो(सेपाक ताक्रो), सुरज सुनार(आईटिएफ), ऋषिसरा थापा(एथलेटिक्स)चित्रबहादुर थापा(खो खो), पुनम गुरुङ(व्याडमिन्टन), फुल कन्ट्याक्ट कराँतेका रुपक नेपाली र मुना थापा टेबल टेनिसलाई नगदसहित सम्मान गरिएको हो । खेलाडी तथा अफिसियललाई नगद २० हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गरे । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उनको छ ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताए । उनले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उनको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पीडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताए । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उनको थियो ।