नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गते

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३ गते २०८१ मा प्रकाशित


नेपालगन्ज-धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार आयोजना हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको हो ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिने छ । साथै केही दौडसम्बन्धि प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत सञ्चालन गरिनेछ । एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिने तयारी छ । यसका बारेमा चाँडै कार्यक्रम सार्वजनिक गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नवौं धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्कीले विश्वप्रतिष्ठित लण्डन म्याराथन तथा सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउन सफल भएका छन् ।