
पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका शर्तहरु बमोजिम प्रतियोगिता स्वीकृति प्रदान गरिएको छ ।
एन्फाले ५ वटा शर्तहरु समेत उल्लेख गरेको छ । पहिलो शतृमा प्रतियोगितामा सहभागि हुने टिम/क्लबहरु एन्फा वा एन्फामा आवद्ध जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आवद्ध(दर्ता) भएको हुनु पर्नेछ । दोस्रो शर्तमा प्रतियोगिता नियमावली र खेल तालिका ७ दिन अघि एन्फामा पेश गरी एन्फाको स्वीकृति लिई खेल सञ्चालन गर्नु पर्नेछ ।
तेस्रोमा प्रतियोगिता सञ्चालनको लागि आवश्यक प्राविधिक जनशक्ति (रेफ्री, सहायक रेफ्री, फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नर) एन्फाबाट मनोनयन गराई मात्र सञ्चालन गर्नु पर्नेछ । एन्फाले माथि उल्लेखित मितिमा मोफसलको अन्य १(एक) स्थानमा प्रतियोगिता सञ्चालन गर्न दिन सक्नेछ । र अन्तिम पाँचौ शर्तमा प्रतियोगिता सम्पन्न भएको ७ दिनभित्रमा एन्फा सचिवालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
सहारा क्लबले गोल्डकपको लागि मागेकै मिति पाएको कास्की जिल्ला फुटबल संघले जनाएको छ । संघका अनुसार क्लबले प्रतियोगिता आयोजनाको लागि उल्लेखित मितिलाई नै एन्फाले स्वीकृति प्रदान गरेको हो ।