कास्की ११ आदर्श कपको फाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित


पोखरा-पेनाल्टी सुटआउटमा आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै कास्की ११ आदर्श कपको फाईनल प्रवेश गरेको छ । आदर्श युवा क्लबको आयोजनामा भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित र अतिरिक्त समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कास्कीले आयोजकलाई ४–३ गोलमा पराजित गर्दै उपाधि निकट पुगेको हो ।

कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको प्रहारलाई आर्दशका गोल रक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्की बिरुद्ध दिपक कार्की र दिपेश आलेमगरले हानेको बललाई कास्कीका गोल रक्षक आयुष्मान गुरुङले बचाउ गरेपछि आयोजकको यात्रा फाईनल नपुग्दै टुंगियो । हारसँगै आयोजक आदर्श युवा क्लब उपाधि होडबाट बाहिरिएको छ । बुधबारको खेलमा म्यान अफ द म्याच कास्कीका आयुसमान गुरुङ बने । उनले नगद पाँच हजारसहित मेडल हात पारेका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेल बिहीवार गोरखा फुटवल संघ र सशस्त्र प्रहरी बल गण्डकीका बीच हुने खेल संयोजक ओमप्रकाश गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधा गततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म जारी प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।