सहप्रायोजन गर्दै सहारासँग जोडियो जयश्री फुड्स

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २७ गते २०८१ मा प्रकाशित


पोखरा-सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो ।

सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ सहयोग गर्ने छ ।

‘एकेडेमीका बच्चाहरुको भविष्यको लागि हाम्रो तर्फबाट अझै सहयोग गर्ने हामी अग्रसर रहन्छौं ।’ जनरल म्यानेजर अग्रवालले भने । उनको भनाई अनुसार व्यवसायिक संस्था कुनैपनि खेलकुदसँग जोडिएको पहिलो हो ।

जयश्री च्यारिटी संस्था मार्फत सामाजिक सेवा काम गर्दै आएपनि फुटबलसँग जोडिएको पहिलो भएको उनको भनाई थियो । क्लबले आगामी माघ २२ देखि फुटबल प्रतियोगिता आयोजना गर्दै छ । आहा रारा पोखरा गोल्डकपको तयारीमा जुटेको क्लबले ए डिभिजनका क्लब, जापान, युकेको ब्रिगेडब्वाईज क्लब र भारतीय सर्भिस टिम वा क्लबसँग सहभागिताको लागि छलफल भईरहेको क्लबका अध्यक्ष बरालले जानकारी दिए । सहारा क्लबको फुटबल प्रतियोगितालाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

क्लबसँग कसरी जोडियो जयश्रीः

पोखरामा जयश्री फुड्स प्रालिको उत्पादन भन्साघर चामलको राष्ट्रिय डिलर भेटघाट थियो । पोखरा प्रतिष्ठित होटलमा आयोजित कार्यक्रममा सहारा क्लबका प्रतिनिधिको पनि उपस्थिति थियो । त्यही उपस्थितिको बेला क्लबका पदाधिकारीसँग जनरल म्यानेजर अग्रवालको भेटघाट भयो । खास गरी सुनिल गुरुङ, विक्रम थकाली, राजु लालचन लगायतसँग भेटघाटपनि जनरल म्यानेजर अग्रवालले फुटबलसँग सहकार्य गर्ने ध्यान बनाए । छलफलपछि फुड्सका प्रतिनिधिले पोखरा १७ स्थित दोविल्लामा रहेको सहारा एकेडेमी अवलोकन गरे । आवासिय एकेडेमी र सामाजिका कार्यमा अग्रसर देखाएको क्लबसँग सहकार्य गर्ने निधोमा पुग्यो ।

‘क्लबको बारे जानकारी लियौं । सामाजिक संस्था त्यसमा पनि सेवामुलक रहेको पायौं । बालकहरुलाई राखेर एकेडेमी चलाएको थाहा पायौं । एकेडेमी हेरेपछि प्रतियोगिता मार्फत सहकार्य गर्ने टुंगोमा पुग्यौं ।’ जयश्री फुड्स प्रालिका जनरल म्यानेजर अग्रवालले सुनाए । उनले भविष्यमा एकेडेमीलाई केही गर्न सकिन्छ भन्ने उद्देश्यसँगै क्लबसँग जोडिएको स्पष्ट पारे ।

क्लबलाई सम्झौता अनुसार नगद सहयोग गर्ने जनाउँदै उनले सहकार्य राम्रो भए अझै एकेडेमीको लागि भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफनो उत्पादन खास गरी चामल र चिउरा रहेको सुनाए । यद्यपी उनले एकेडेमीको लागि सहयोगको प्रस्ताव भने नआईसकेको उल्लेख गरे । ‘अहिले क्लबसँग जोडियौं । तर एकेडेमीको लागि भनेर सहयोगको कुनै प्रस्ताव आएको छैन् ।’ उनले भने—‘प्रस्ताव कस्तो आउँछ । प्रस्ताव अनुसार हामी अगाडि बढ्छौं ।’ उनले एकेडेमीसँग कसरी जोडिन सकिन्छ हामी छलफलपछि मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।