दर्शकलाई पाँच हजार नगद पुरस्कार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०८१ मा प्रकाशित


पोखरा-आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् । पुरस्कारवापत्को रकम सहारा एफ।सी।यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो । सो अवसरमा क्लबका सदस्य एवं पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, मानार्थ सदस्य महेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ९सुरज०, पूर्व अध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, सचिव टंकप्रसाद पौडेल, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित उपस्थित थिए । यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् ।

तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूव च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । क्लबले पोखरा रंगशालासम्म दर्शकलाई आकर्षित गर्न होल बडी चेक अप, आँखा जाँच, विभिन्न बम्पर उपहार लगायत व्यवस्था गरेको छ ।