कर्नर गोलमा पुलिसको जित, आयोजक निराश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०८१ मा प्रकाशित


पोखरा-वर्षदिनको प्रतिक्षापछि पोखरामा फुटबलको रौनक शुरु भएको छ । सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवातसँगै फुटबलको रौनकता शुरु भएको हो । फुटबलको रौनक शुरु हुदाँ आयोजक सहारा क्लब भने उदघाटन खेलमा निराश बन्यो । नेपाल पुलिस क्लबले पोखराको मैदानमा आफनो गर्विलो शाख जोगाउने क्रममा आयोजक सहारा क्लबलाई १-0 गोलले निराश बनाईदियो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसको झोलीमा खुशीयाली थपिदाँ आयोजकको ९0 मिनेटको प्रयास विफल मात्रै भएन् निराशमा परिणत भयो ।

पहिलो हाफको सातौं मिनेटमा सहाराले प्राप्त गरेको सुनौलो अवसर गुमाउनु नै अभागीको संकेत देखियो । आर्नोल्डको पासलाई विलियम सेसेगननले सिक्स यार्ड बक्सबाट हानेको बललाई पुलिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै आशा जगाई राखे । सहाराका स्ट्राईकरको प्रहार विफल हुदाँ सहाराका बैकल्पिक मात्रै नभई सहारा समर्थक निराश बन्न पुगे ।

१७ औं मिनेटमा नेपाल पुलिसले त्यस्तै अवसरलाई खेर फाल्यो । विवेक पाण्डेले नजिकैबाट प्रहार गरेको बल हावामा उड्यो । सुजन मगरले उनलाई उत्कृष्ट पास मिलाईदिएका थिए । तर पाण्डेले फष्टबार च्याप्ने चक्करमा प्रहार गरेको बल आकासिन पुग्यो । २४औं मिनेटमा सहाराले अर्को अवसरलाई गुमायो । सेसेगननको पासलाई सन्तबहादुर गुरुङको पावरसट क्रसबारमाथिबाट बाहिरिन पुग्यो ।

खेलको नेपाल पुलिस क्लबले ३७ औं समेतमा कर्नर प्राप्त गर्यो । प्राप्त कर्नरलाई उज्वल राईले प्रहार गरे । उनको प्रहार सिधै सेकेण्ड बारमा जाली चुम्यो । उनको त्यो नै प्रतियोगिताको पहिलो र निर्णायक गोल बन्यो । जितका लागि पर्याप्त रह्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजना, हिमश्री फुड्सको मुख्य प्रायोजन, जयश्री फुड्सको सहप्रायोजन रहेको प्रतियोगितामा तीन विभागीय क्लब आर्मी, सशस्त्र र नेपाल पुलिस क्लबसहित मछिन्द्र क्लब,अपी पावर चर्च ब्वाईज युनाईटेड क्लब, विदेशी क्लब थन्डर नर्थ युनाईटेड क्लब सिक्किम, ब्रिगेड ब्वाईज क्लब युके, थ्रीस्टार, एनआरटी, संकटाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।

उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन पाँचहजार रुपैयाँबाट पुरस्कृत गरिने छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका छन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगदराशीको पुरस्कार प्राप्त गर्ने छन । उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल रहेको छ । प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।