
पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न गण्डकी प्रदेशले छलफल शुरु गरेको छ । तयारी अनुसार परिषदले गठित प्रदेश संघहरुसँग छलफल गर्यो । कर्णाली प्रदेशको सुर्खेतको विरेन्द्रनगरनगरपालिकास्थित कर्णाली रंगशालामा राष्ट्रिय खेलकुद प्रतियोगताको लागि सचिवालय निर्माण गरेपछि छलफलले तयारी शुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
छलफलले आगामी बैशाख ५ गतेसम्म प्रदेश छनोट गरिसक्ने समय सीमा तोकिएको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले बताए । उनले चैत ५ गतेसम्म संघले दर्ता गर्न छुटेका खेलाडीहरुलाई दर्ता गरिसक्नुपर्ने समेत उल्लेख गरे । त्यसपछि पालिका, जिल्ला र प्रदेश छनोट गरिने जनाए । उनको भनाई अनुसार चैत २५ गतेभित्रमा पालिका र जिल्ला छनोट भईसक्नुपर्र्ने छ । पालिका र जिल्ला छनोटको लागि प्रदेश खेलकुद परिषदले निर्देश गर्ने छ । छनोटको लागि आवश्यक बजेटको विषयमा भने प्रदेश खेलकुद परिषदले केही उल्लेख भने गरेको छैन् ।
छनोटको लागि आवश्यक खेल सामाग्रीको बारेमा भने छलफलले ठोस निर्णय भने नगरेको उपाध्यक्ष गुरुङले सुनाए । उनले आगामी बैठकबाट सम्बन्धीत खेलसंघसँग छलफल गरिने बताए । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद हुने छ । चैतमा पालिका र जिल्ला छनोट प्रतियोगिता गर्ने हुदाँ अधिकांश खेलाडीहरु परीक्षाकै कारण प्रतियोगितामा समावेश हुने नहुने दुविधा रहने आंशका छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आगामी बैशाख ५ गतेपछि बन्द प्रशिक्षण शुरु गरिने छ । पदक जित्ने सम्भावना रहेका खेलहरुकै आधारमा बन्द प्रशिक्षण तय गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनोट भने प्रदेशका सबै जिल्लामा छनोट प्रतिस्पर्धा गरिने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको तथ्यांक अनुसार ३ हजार ३७६ जना खेलाडी दर्ता भएका छन् । कास्कीमा सर्वधिक १ हजार ५८ जना, नवलपुरमा ५ सय ६१, तनहुँ २ सय ६, गोर्खा १ सय ४२, पर्वत २ सय ५९, मनाङ ३ सय ३, मुस्ताङ ६३, बाग्लुङ ३ सय ७, स्याङजा २ सय ४४, लमजुङ ७२, म्याग्दी १ सय ६१ जना खेलाडी दर्ता भएको तथ्यांक छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश चौथो बनेको थियो । तीन विभागीय क्लबपछि प्रदेशमा गण्डकी भने शीर्षस्थानमा थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा ११ टोलीका ६ हजार १ सय ५७ जना खेलाडीले ४ सय ४ इभेण्ट्समा प्रतिस्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदक जितेको थियो । बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य पदक जितेको थियो ।