पोखरा थन्डर्सद्वारा उपविजेता ट्रफी महानगरलाई हस्तान्तरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


पोखरा-नेपाल सुपर लिग उपविजेता पोखरा थन्र्डसले प्राप्त गरेको ट्रफीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको छ ।
प्रमुख आचार्यलाई पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ लगायत पोखरा थन्डर्सका पदाधिकारीले ट्रफी हस्तान्तरण गरेका हुन् । सोमबार पोखरा रंगशालामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख आचार्यले आगामी सिजनको सुपर लिगलाई पोखरामा पनि आयोजना गर्ने तर्फ सरोकार निकायसँग छलफल भइरहेको बताए ।

उनले आगामी सिजनको केही खेललाई पोखरामा खेलाउने विषयमा शनिबार फाईनल खेलको बेला छलफल गरिएको उल्लेख गरे । प्रमुख आचार्यले पोखरा रंगशालाको पूर्वाधारमा भएका कमिकमजोरीलाई सुधार्नुपर्ने देखिएको बताए । पोखरा रंगशालामा सन्ध्याकालिन समयमा खेलाउन अत्यावश्यक फ्लड लाईट जडान नहुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कठिनाई भएको गुनासो फुटबलप्रेमीले गर्दै आएका छन् । यद्यपी महानगरपालिका प्रमुख आचार्यले फ्लड लाईट जडान गर्ने विषयमा महानगरको तर्फबाट हुने सहयोगको विषयमा कुनै सम्बोधन भने गरेनन् ।

पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले पोखराको फुटबल विकासमा पोखरा थन्डर्स कतै नचुक्ने स्पष्ट पारे । उनले पोखरा थन्डर्सलाई गरेको साथ सहयोगकै कारण उपविजेता बनेको भन्दै आगामी सिजन अझै गृहकार्य गरेर उपाधि उचाल्ने प्रतिबद्धता गरे । पोखरा थन्डर्सले पोखरामै मैत्रीपूर्ण प्रतिस्पर्धालाई खेलाउने योजना रहेको समेत सुनाए । उनले उपाधिको लागि छ महिना अघि देखि नै मेहनत गर्नुपर्नेमा जोड दिए ।

उपविजेता बनेर पोखरा आईपुगेको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको पूर्वाधार अवलोकन गरेको थियो । १ अर्ब २८ करोड लागतमा निर्माण गएिको फुटबलको पूर्वाधारमा रात्रीकालिन खेलको लागि फ्लड लाईट जडान गर्नुपर्ने आवश्यकता छ । महानगरपालिका पनि पूर्वाधार बनाउने तर्फ मौन रहेको छ । कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, पोखरा महानगर खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष दिपकबहादुर गोदार लगायतले सम्बोधन गरेका थिए ।