पूर्व अध्यक्ष थापाको नेतृत्वमा सर्वसम्मत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०८२ मा प्रकाशित


पोखरा-दुईदिनको प्रयासपछि सहारा क्लब पोखराको आगामी दुई वर्षे कार्यकालको लागि पूर्व अध्यक्ष केशवबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

शनिबार सर्वसम्मत प्रयास नभएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको थियो । निर्वाचन प्रक्रिया अगाडि बढाईएपनि आईतबारसम्मको लागि स्थगित गरिएको थियो । १४ औं अधिवेशन तथा २७ औं वार्षिक साधारणसभाले थापालाई फेरी अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ रहेका छन् । उनले थापासँग अध्यक्षको लागि उम्मेदवारीको दावेदारिता प्रस्तुत गरेपनि क्लबका पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरुले थापालाई सर्वसम्मत गराउँदै गुरुङलाई बरिष्ठमै दोहोर्याउन आग्रह गरेका थिए । आग्रह अनुसार नै गुरुङ बरिष्ठ उपाध्यक्षमा दोहोरिए । गुरुङ सहारा क्लबका संस्थापक सचिव समेत हुन् ।

उपाध्यक्षमा विनु रानामगर, महासचिवमा गंगाराज पौडेल, कोषाध्यक्षमा ज्ञानेन्द्र गुरुङ, सचिवमा लिलबहादुर थापा तथा सह कोषाध्यषमा विष्णु गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अम्बर राजभण्डारी, रोजिना गुरुङ,ज्योति केसी, शैलेस गुरुङ, विजय गुरुङ र प्रमिला घले रहेका छन।
२३ औं संस्करणको आहा रारा गोल्डकप घाटामा गएपछि सहारा क्लबले तत्कालिन कार्यसमितिको काम गर्ने क्षमता नभएको जनाउँदै थापालाई फेरी अध्यक्षमा ल्याउने एकवर्ष अघि नै गृहकार्य गरेको थियो । २४ औं संस्करणको गोल्डकपमा पूर्व अध्यक्षहरुको सक्रियता देखिएपछि प्रतियोगितामा २४ लाख नाफा भएसँगै नेतृत्वमा पुरानै अध्यक्ष ल्याउनुपर्ने आवाज क्लबभित्रै उठन थालेको थियो ।

पुरानै अध्यक्षहरुले दोहोर्याउने नजिर बसेपछि नयाँ सदस्यले नेतृत्व पाउन कठिनाई हुने क्लबकै सदस्यहरुले गुनासो गरेका थिए । थापाको अध्यक्षमा क्लबको नयाँ कार्यसमिति सर्वसम्मत चयन हुदाँ केही आकांक्षीहरु भने क्लबको कार्यसमिति भित्रै अटेनन् । यसले पनि क्लबभित्र आफुलाई समर्थन नगर्ने व्यक्तिलाई पन्छाउने रणनीति रहेको क्लबका पदाधिकारीहरु नै बताउँछन् ।

शनिबार नै अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा सहमति नभएपछि क्लबको अधिवेशन इतिहासमै दोस्रो दिन कार्यसमिति चयन गरिएको हो । थापा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका हुन् । गुरुङ क्लबको संस्थापक सचिव हुन् । यद्यपी गुरुङ शिक्षण पेशामा आवद्ध भएकै कारण क्लबमा केही वर्षपछि फेरी पदाधिकारीमा सक्रिय रहँदै आउनुभएको छ ।

लामो छलफलपछि अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएपछि बरिष्ठ उपाध्यक्षमा आकांक्षी चित्रबहादुर पुन र मनबहादुर क्षत्री(काजी) बाहिरिएका छन् । २०५५ सालमा स्थापित क्लबले नेपाली फुटबलमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सहारा फुटबल एकेडेमी सञ्चालनार्थ अक्षयकोष रकममा बृद्धि गर्ने लक्ष्य राखिएको भावि कार्ययोजनामा समेटिएको छ । क्लब एकेडेमीमा अहिले १६ जिल्लाका ३० जना बालक आश्रित छन् । क्लबको एकेडेमी र गोल्डकपलाई हिमश्री फुड्सले सहयोग र प्रायोजन गर्दै आएको छ ।