प्यारापिटका कुहिएका प्लाई डेकसिट फेरिदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित


पोखरा-गर्विलो खेल संरचना बनेको छ वर्षपछि पोखरा रंगशालास्थित फुटबल मैदान वरिपरीको प्यारापिट मर्मत सम्भार शुरु गरिएको छ । प्यारापिटमा प्रयोग भएको प्लाईको डेकसिट पोखराको घामपानीले बिग्रिएपछि सम्बन्धीत कम्पनीले नै स्टिल राख्न शुरु गरेको हो । दुई महिनाअघिदेखि प्यारापिटका सबै प्लाई हटाई स्टिल राखिने छ । ग्याल्भनाईज्ड गरिएकोे एन्टी स्लिप स्टिल हो । जुन चिप्लिदैन् ।
फुटबल मैदान बनेको छ वर्ष पुग्यो । नेपालमै सर्वाधिक दर्शक क्षमताको पोखरा रंगशालास्थित फुटबलको प्यारापिटमा प्रयोग गरिएको प्लाई कुहिएर कामै नलाग्ने भएका छन् । कुहिएका प्लाई हटाई स्टिलको पाता हालिएको छ । कम्पनीले भीइआईपी तर्फको प्यारापिटमा पहिलो चरणमा प्लाई हटाई स्टिल राखिएको छ ।

फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउन एक अर्ब २८ करोड खर्च भएको छ । निर्माणको जिम्मेवारी ग्रेड स्पोर्टस र एमए कन्ट्रक्सन प्रालि(जेभी)ले लिएका हुन् । पूर्वाधार निर्माणकै क्रममा २०७६ साल मंसिर १५देखि २४ गतेसम्म पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । स्टिल मोडुलर सिष्टमको प्यारापिट नेपालमै पहिलो हो । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट ल्याई जडान गरिएको हो ।

“पोखराको मौसम अनुसार पहिले नै स्टिल राख्नुपर्ने थियो । स्टिल राख्ने योजना भएपनि प्लाईले काम गर्छ भन्ने थियो । तर दुई वर्षसम्म खासै केही भएन् । तर पछि घामपानीले कुहिदैं गयो ।”प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बराल भन्छन्—“पहिलो चरणमा भीआईपी प्यारापिट तर्फको कुहिएको सबै प्लाई हटाई स्टिल राख्ने काम गरिएको छ । तिहार अघि नै सकिन्छ । त्यसपछि दोस्रो चरणको काम हुन्छ ।” इन्जिनियर बरालका अनुसार प्यारापिटका सम्पूर्ण सामान फ्रान्सबाट ल्याइएको हो । घामपानीले प्लाई सबै कुहिएपछि फ्रान्सबाट समेत सम्बन्धीत कम्पनीका प्राविधिकहरु निरिक्षण गर्न पोखरा आएका थिए । उनीहरुले समेत हेरेर अध्ययन गरेपछि प्लाईको ठाँउमा स्टिल फेर्ने निर्णय भएको हो । सिट नै निकालेर स्टिल हाल्नुपर्ने भएकोले पनि समय लाग्ने उनको भनाई थियो । “सिट ननिकाली स्टिल हाल्न सकिदेन् । त्यसैले सिट निकाल्दै हाल्नुपर्छ । स्टिल राखेपछि फेरी सिट राखनुपर्छ ।”उनी बताउँछन् ।

स्टिल फेर्ने काम सबै खर्च ग्रेड स्पोर्टस तथा एमए कन्ट्रक्सन(जेभी)ले व्यहोेर्ने छ । यद्यपी फ्रान्सेली कम्पनीले पनि केही व्यहोर्ने इन्जिनियर बराल बताउँछन् । “स्टिल फेर्न कति खर्च हुन्छ यकिन जानकारी छैन । फ्रान्सेली कम्पनीले पनि केही व्यहोर्ने छ ।” बराल सुनाउँछन् । पोखरा रंगशालाको फुटबल प्यारापिट आवश्यकता अनुसार बढाउन सकिन्छ । एक ठाँउबाट अर्को ठाँउमा स्थापित समेत गर्न सकिन्छ ।
पोखरा रंगशाला देशकै ठूलो हो । ४ सय १५ रोपनी क्षेत्रफलमा छ । जहाँ फुटबल मैदानसहितको १६हजार ५ सय दर्शक क्षमताको प्यारपिट छ । क्रिकेट मैदान छ । आर्चरीको मैदान, लन टेनिसका ६ वटा क्ले कोर्ट, स्क्वास कोर्ट, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल, सेमी कभर्ड हल, भलिबल प्रशिक्षण केन्द्र, बास्केटबल कोर्ट, अन्नपूर्ण स्केट पार्क लगायतका पूर्वाधार पोखरा रंगशालाभित्र छन् ।

पोखरालाई माछापुच्छ«े र फेवाताललाई देखाएर मात्रै परिचय नहुने जिकिर गर्दै ब पोखराको परिचय खेलकुद शहरको रुपमा विकास गर्नुपर्ने खाँचो खेलकर्मीले औल्याउँदै आएका छन् । भौतिक पुर्वाधार तयारपछि पोखरालई ‘खेलकुदको पुर्वाधार बनाई पोखरालाई स्पोर्टस टुरिज्म सिटी’को प्रवद्र्धन हुने विश्वास गरिएको थियो । तर साग पछि फुटबल मैदानमा स्पेनको टोलीसँग मैत्रीपूर्ण फुटबल आयोजना बाहेक अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने भएका छैनन् ।

Pic By Basanta Sherpa